प्रधानमन्त्रीको पछाडि बस्ने अर्का मन्त्रीलाई पनि कोरोनाको आशंका

प्रधानमन्त्रीको पछाडि बस्ने अर्का मन्त्रीलाई पनि कोरोनाको आशंका

बैशाख १० गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मञ्चमा पछाडितर्फ बस्नुभएका उद्योगमन्त्री लेखराज भट्टलाई पनि कोरोना पोजिटिभको आशंका गरिएको छ ।

भट्टसँगै बस्नुभएका अर्का मन्त्री टोपबहादुर रायमाझी भने अस्ति नै संक्रमण पुष्टि भएपछि सैनिक अस्पताल भर्ना भइसक्नुभएको छ ।
अहिले भट्टलाई समेत कोरोनाको लक्षणसँग मिल्दोजुल्दो अवस्था देखिएपछि सँगै रहेका प्रधानमन्त्री तथा अन्य पदाधिकारीहरूसमेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

त्यो दिन हलको तल्लो भागमा रहेका अन्य सदस्यहरू भने एक हदसम्म दूरीमा बसेको बताउँछन् । तर मञ्चमा त्यति धेरै दूरी देखिएको थिएन । केन्द्रीय सदस्यहरूमध्ये खिमलाल भट्टराई र विष्णु रिजाललगायतलाई कोरोना पुष्टि भइसकेको छ ।

भूगोलको जिम्मेवारीबाट हटाएर विद्यार्थीको जिम्मा दिएकोमा खुशी नदेखिएका भट्टराई त्यहिँ नै सञ्चो नभएको भन्दै अलग्गै बसेका थिए । अधिकांशले मास्क खोलेका थिएनन् बरु जुत्तामा समेत नीलो प्लास्टिक लगाएर बैठक कक्षमा प्रवेश गरेका थिए ।

भट्टमा कोरोनाको आशंका बढेपछि उता नेता केशव बडाल पनि आत्तिनुभएको छ । त्यहि बेला भट्टसँग मुखामुख गरेर कुरा गरेका कारण अहिले बडाल चिन्तित हुनुभएको बताइन्छ । उहाँ यसअघि नै कोरोना संक्रमण भएर निको हुनुभएको थियो । तर, अहिले परीक्षण गर्ने सम्बन्धमा के गर्ने वा नगर्ने भन्ने अप्ठेरोमा पर्नुभएको हो ।

सात दिनअघिको बैठकमा सहभागी धेरै जनालाई कोरोना संक्रमण पुष्टि भएपनि प्रधानमन्त्री ओलीलाई भने अहिलेसम्म कुनै त्यस्तो लक्षण नदेखिएको बालुवाटार स्रोतले जनाएको छ ।

टिप्पणीहरू