जहाज चढेका दुई विदेशी किन झारिए ?

जहाज चढेका दुई विदेशी किन झारिए ?

अचम्म पनि कस्तो भने एक जमानामा केन्द्रीय कारागारमा थुनिएका फ्रेन्च सिरियल किलर चार्ल्स शोभराजले भनेका थिए ‘काठमाण्डौँ एयरपोर्टबाट म उस्तै परे हात्ती पनि छिराइदिन्छु ।’

अहिले हात्ती नै त होइन तर कोरोनाको ‘पोजिटिभ रिपोर्ट वाहक’ दुई जना चिनियाँ यात्रु भने अध्यागमनदेखि लिएर सारा सेक्युरिटी पार गर्दै विमानमा पुगेपछि फर्काइएका छन् । यो घटना सोमबार रातिको हो ।

सी जेड अर्थात् चाइना साउदर्न एयरलाइन्सको काठमाडौं–ग्वाङ्जौ उडानमा जान लागेका दुई जना चिनियाँ नागरिकले मध्यराति घर फर्कनको लागि काठमाडौंको एउटा अस्पतालबाट पीसीआर रिपोर्ट बनाएका थिए । त्यसमा कोरोना पोजिटिभ नै लेखिएको थियो ।

तर,उनीहरुले पोजिटिभलाई पनि के बुझे कुन्नि वा भन्नेले के भनेर पठाएका थिए, त्यही रिपोर्ट लिएर ठमठम विमानस्थल गए ।

सबै काम सकेर प्लेन चढेपछि यसो रिपोर्ट हेर्दाखेरि कोरोना पोजिटिभ लेखेको देखियो । उसै पनि चीनको भूमिमा टेकेपछि दुई हप्ता सबैले होटेलमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ ।
उनीहरुमा पोजिटिभ रिपोर्ट भएको कुराचाहिँ बोर्डिङ पाससँग टाँसिएको कागजलाई विमानभित्र सिटमा एयर होस्टेसले रुजु गरेपछि मात्र थाहा भएको थियो ।

त्यसपछि विमानभित्रैबाट प्रहरीलाई खबर गरियो । उनीहरुलाई समातेर लगेपछि अहिले अस्पतालमा भर्ना गरिएको छ ।

त्यो घटनाले हाम्रो भद्रगोल अवस्थालाई उजागर गरिदिएको छ । अनि कहाँबाट नेपालका जहाजहरु उडुन् ! कहाँबाट चाँहि नेपालले सही यात्रुलाई अध्यागमनबाट पार गराउँछ भन्ने विश्वास अरुलाई परोस् ! नीति, नियम,कानुन माथिकाले जति बनाए पनि कार्यान्वयन तहमा चुक्ने काम गरेपछि देशको बेइज्जत हुनु त स्वभाविक हो ।

टिप्पणीहरू