अस्पतालमा पूर्वराजा–रानीको अवस्था सामान्य,खाना निर्मल निवासबाट

अस्पतालमा पूर्वराजा–रानीको अवस्था सामान्य,खाना निर्मल निवासबाट

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहमा कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएपनि खासै स्वास्थ्य समस्या नदेखिएको स्रोतले बताएको छ । स्रोत भन्छ ‘उहाँहरूमा कुनैपनि किसिमको समस्या छैन ।

’नर्भिक अस्पताल थापाथलीको छुट्टा छुट्टै क्याबिनमा बसेका पूर्वराजा–रानीलाई अक्सिजन लगाए पनि नर्मल लेभलमै अक्सिजन मेण्टेन गरिएको बुझिएको छ । यसबीच छोरी प्रेरणा शाहलाई पनि त्यहिँ भर्ना गरिएको छ । उनमा समेत कोरोना पोजिटिभ देखिएपछि नर्मल हिसाबले ल्याइएको अस्पताल स्रोतले बताएको छ । स्रोत भन्छ ‘पोजिटिभ देखिएकाले ल्याइएको हो,ठूलो लक्षण केही पनि छैन ।’ पूर्व राजपरिवारका तीन जना मात्रलाई कोरोना संक्रमण देखिएको हो ।

भारतको कुम्भ मेलामा सहभागी भएर फर्केका सासू,ससुरालाई कोरोना देखिए पनि निर्मल निवासमा रहेका बुहारी हिमानी,नाति हृदयेन्द्र र दुबैजना नातिनी पूर्णिका तथा किर्तिकाहरूमा अहिलेसम्म त्यस्तो लक्षण केही नदेखिएको सुरक्षा स्रोतले बताएको छ । नर्भिक अस्पताल,कोभिड फ्लोरको क्याबिनमा बसेका पूर्व राजपरिवारका सदस्यहरूले खाना भने निर्मल निवासबाट पठाइएको मात्र खाने गरेका छन् । उहाँहरूलाई चिकित्सकले सिफारिश गरेबमोजिमको खाना निर्मल निवासबाट हट केसमा हालेर छिन छिनमा पठाउने गरिएको छ ।

अस्पताल भर्ना भएको चार दिनसम्म खासै समस्या नदेखिएकाले अबको बढीमा एक सातामा उहाँहरू निवास फर्किनसक्ने अवस्था रहेको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बताएको छ ।

टिप्पणीहरू