जसरी हुन्छ उदघाटन गर्ने पालो तामाकोशीको

जसरी हुन्छ उदघाटन गर्ने पालो तामाकोशीको

भोलि एक हुल मन्त्रीहरू दोलखाको लामाबगर गएर तामाकोशी जलविद्युत परियोजनामा पानी पठाउने कार्यको शुभारम्भ गरिँदैछ ।

भोलिको हप्ता दश दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट परियोजना उद्घाटनको तयारी छ । भोलि सुरुङमा पानी हालेपछि कम्तिमा १२ दिन जति पावर हाउस चले पनि विद्युत उत्पादन नगरी परीक्षण गरिन्छ ।

त्यसको १० दिन जति फेरि पानी बन्द गरेर टनेलको निरीक्षण गरेपछि विद्युत उत्पादन शुरु हुने प्राविधिकहरूले बताएका छन् । उनीहरू भन्छन् ‘अबको एक हप्तामा टर्बाइनचाँहि घुम्छ तर बिजुली उत्पादनको काम अर्को दुई हप्ता पछि मात्र हुन सक्छ ।’

नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्रीलाई बिजुली उत्पादनभन्दा पनि टर्बाइन घुमाएर उद्घाटन गरेको सन्देश दिनु छ ।

आफ्नो जिल्ला दोलखामा स्वदेशी पुँजीले बनाइएको राष्ट्रिय गौरवको आयोजना भएकाले सञ्चारमन्त्री पार्वत गुरुङ कम्मर कसेर उद्घाटनको तयारीमा लाग्नुभएको छ । त्यसैगरी नेता आनन्द पोखरेल समेत आफ्नै जिल्लाको आयोजना भएकाले प्रधानमन्त्री ओलीबाट जसरी पनि उद्घाटन गराइछाड्न लागि पर्नुभएको छ ।

भोलि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी भने कोरोना संक्रमण भएकाले जाने छैनन् । सञ्चार मन्त्रीलगायतका मन्त्रीहरू भोलि हेलिकोप्टरमा लामाबगर जाने कार्यक्रम रहेको छ ।

भोलि आठ किलोमिटर लामो सुरुङमा पानी पठाइनेछ । आयोजनाको शुरुको अनुमानित लागत ३५ अर्ब २९ करोड थियो । अहिले त्यो बढेर दोब्बर भएको छ । निर्माण अवधिको ब्याजबाहेक अहिले ६९ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

तर, आयोजना स्रोतले परियोजना सम्पन्न हुँदा ८० अर्ब रुपैयाँ पुग्ने बतायो । त्यत्रो धेरै रकम खर्च गरेर बनाइएको तामाकोशीले ४५६ मेगावाट वर्षायाममा मात्र दिने छ । हिउँदमा हुने अघोषित लोडसेडिङ र भारतबाट खरिद गर्ने बिजुली भने यथावत रहने देखिएको छ ।

तामाकोशीबाट हिउँदमा ८० मेगावाट बिजुली उत्पादन हुनेछ ।

टिप्पणीहरू