सुदूरपश्चिममा महासंकट,एम्बुलेन्सबाटै बिरामी भागाभाग

सुदूरपश्चिममा महासंकट,एम्बुलेन्सबाटै बिरामी भागाभाग

भारतमा कोरोना महामारीको भयावह परिस्थिति बढ्दै जाँदा त्यसको सोझो असर सुदूरपश्चिम प्रदेशमा परेको छ । सीमा नाकामा तैनाथ प्रहरीदेखि ब्यारेकमा रहेका सैनिकसमेत संक्रमित हुन थालेपछि परिस्थिति भयावह हुनसक्ने आँकलन गरिएको छ ।

भारतसँग जोडिएका विभिन्न नाकामध्ये सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार र गड्डा चौकी प्रमुख विन्दु हो । हुन तः सरकारले सुदूर पश्चिममा नौ वटा नाका यसअघि नै खुल्ला गरेको थियो । तीमध्ये कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको त्रिनगर र बैतडीको झुलाघाट मात्र अहिले सञ्चालनमा छ ।

त्यतै भएर भारतको विभिन्न शहरबाट फर्केका स्थानीय भित्रिरहेका छन् । नेपाल छिर्नेलाई,नेपाल आउन खोज्ने नेपालीलाई नरोक्ने र सहजीकरण गर्ने भन्ने आदेशका आधारमा स्वास्थ्य चेकअप गराएर मुलुकभित्र छिराउने गरिएको बताइन्छ । तर,परिस्थिति सोचेझैँ देखिँदैन ।

“सेना र प्रहरीका ब्यारेकमा सँगै बस्ने र खानेहरू सबैभन्दा उच्च जोखिममा परेका छन् । एउटै कुर्सीमा उठबस गर्ने प्रहरी र सेनाका हकिमलाई लागेपछि धेरैमा सरेको आशंका गरिएको छ”

अहिले सुदूरपश्चिमका सबै सुरक्षा निकायमा समेत संक्रमण छिरिसकेको आशंका गरिएको छ । नेपाली सेना र प्रहरीका ब्यारेकमा सँगै बस्ने र खानेहरू सबैभन्दा उच्च जोखिममा परेका छन् । एउटै कुर्सीमा उठबस गर्ने प्रहरी र सेनाका हकिमलाई लागेपछि धेरैमा सरेको आशंका गरिएको छ । यसबीच नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईजना डिएसपीमा संक्रमण पुष्टि भएको बताइन्छ । तीमध्ये एकजना स्थानीय आइसोलेसनमा बसेका छन् भने अर्काचाँहि केही असहज भएपछि काठमाण्डौँ आएका छन् । केही इन्सपेक्टरहरूमा समेत कोरोनाको लक्षण देखिएको छ ।

सुदूरमा दैनिक तीनदेखि चार सय जनाको एन्टिजेन परिक्षण गरिएको छ । त्यसमा २५ जनासम्मको एन्टिजेन पोजेटिभ देखिएको छ । अस्पतालमा संक्रमितहरूको ज्यान जाने क्रम शुरु भएको छ । केही दिनदेखि सेती र महाकाली अस्पतालमा दैनिक दुईदेखि तीन जनाको निधन भएको बताइन्छ ।

अन्यत्रको झैँ त्यहाँका अस्पताल पनि कोरोना बिरामीले भरिएका छन् । क्वारेन्टिनको कुनै व्यवस्था छैन । सीमानाका कडाइको बारेमा माथिको आदेश कुर्दाकुर्दै सबै जिल्ल पर्न थालेका छन् । अहिले अन्यत्रझैँ त्यहाँ पनि भारतसँग जोडिएको सीमाना न खुल्ला न बन्दको अवस्थामा छ । नेपालीहरूलाई भारत आवतजावत गर्न सजिलो हुने नाममा त्यसो गरिएको उनीहरूको गुनासो सुनिन्छ ।

भारतमा मान्छेहरू भकाभक बित्न थालेपछि उनीहरू स्वदेशतर्फ ओइरिएका हुन् । अहिले दुईदेखि चार सयको हाराहारीमा दैनिक नेपाल प्रवेश गरिरहेका छन् । बोर्डरमा खटिएका सुरक्षाकर्मीहरू नै संक्रमित भइरहेकाले त्यहाँको अवस्था क्रमशः नाजुकतर्फ गएको सुरक्षा स्रोतले बताएको छ ।

स्थानीय व्यवसायी र प्रशासनले भोलिदेखि पसल बन्द गर्ने जानकारी दिएका छन् । सहि तरिकाबाट मूल नाकाबाट स्वदेश प्रवेश गर्नुपर्नेमा अन्यत्रबाट छिर्ने गरेकाले परिस्थिति भयावह बनेको बताइन्छ । कतिपय मानिस कोरोना परिक्षण गर्ने क्रममा पोजिटिभ देखिएपछि एम्बुलेन्सबाटै भागेका छन् । गत वर्ष पनि त्यसरी भागेका धेरै थिए । यो वर्षसमेत छिटपुट देखिएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू