कोरोना रोक्न प्रहरीको पहल

कोरोना रोक्न प्रहरीको पहल

कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएको प्रहरीको भनाई छ ।

संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिएको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा ११ हजार ७ सय २२ जनालाई प्रहरीले निशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई पठाइएको साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन,२०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको हो ।

मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ । नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ,सवारी साधनहरूको चेकजाँच,सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रमहरू संचालन गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय,सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको छ ।

टिप्पणीहरू