बादललाई फेरि उम्काउन एक करोड

बादललाई फेरि उम्काउन एक करोड

निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचनका लागि सरकारसँग बजेट माग गरेको छ । आज अर्थमन्त्रालयलाई पत्र पठाउँदै आयोगले एक करोड भन्दाबढी बजेट मागेको हो ।

उपनिर्वाचनका लागि आयोगले एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको छ । आयोगले आर्थिक व्यवस्थापन सम्बन्धमा उपनिर्वाचन संचालन आर्थिक कार्यविधि-२०७८ तयार गरेको पनि जनाएको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २७ र २८ अनुसार कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थमन्त्रालयमा लेखि पठाउन आयोगबाट भएको निर्णय बमोजिम पत्राचार गरिएको आयोगको भनाइ छ ।

राष्ट्रियसभामा रिक्त सदस्यका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको हो । थापालाई माओवादी केन्द्रले संसद सदस्यबाट कारवाही गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ (ख) मा एउटा दलबाट निर्वाचित सांसदले अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने उल्लेख छ । दफा ३५ मा दल त्यागको सूचना सम्बन्धित सदन वा सभामुख वा अध्यक्षले सदन वा सभालाई दिएर वा सचिवालयको सूचना पाटीमा टाँस भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिनेछ ।

रिक्त हुन आएको सांसद पदमा उपनिर्वाचन हुन लागेको हो ।

टिप्पणीहरू