काँग्रेसी नेताहरूले भने ‘हाम्रो संलग्नता छैन’

काँग्रेसी नेताहरूले भने ‘हाम्रो संलग्नता छैन’

काठमाडौंको बूढानीलकण्ठमा जग्गा प्लटिङको नाममा नेपाली काँग्रेस रामेछापका नेता, कार्यकर्तासँग ठूलो रकम उठाइएको विषयमा आफूहरूको कुनै संलग्नता नभएको स्थानीय भरत चौंलागाई, जीतबहादुर मगर र विनिता खड्काले बताएका छन् ।

तीनजनाले प्रकाशित गरेको संयुक्त खण्डनमा भनिएको छ ‘जनआस्थामा बैशाख ७ गते प्रकाशित समाचारमा हाम्रो संलग्नता नभएको र समाचारको उक्त अंशमा कुनै सत्यता नरहेकोले खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध छ ।’

काठमाडौंमा वन प्लस वन कम्पनी खडा गरेर प्रत्येक घडेरीको लागि धेरै जनासँग न्यूनतम १० लाख रुपैयाँको दरले पेश्की उठाइएको पिडितहरूले बताउँदै आएका छन् । यसबीचमा पिडितहरूले पैसा फिर्ता नपाएको र जग्गा समेत नपाएपछि ठगिएको समाचार बाहिरिएको हो ।

चैत २८ गते नेपाली काँग्रेस, रामेछाप–काठमाडौं सम्पर्क समितिले मध्य बानेश्वरको म्याकडोनाल्ड क्याफेमा आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त जग्गा दलाली काण्ड र जिल्लाका अधिकांश नेता ठगिएको रहस्य पटाक्षेप भएको थियो ।

प्रमुख अतिथि रहेका पूर्वमन्त्री मिनेन्द्र रिजालको सामुन्ने नेताहरू मिलेर रामेछापका अधिकांश काँग्रेसी ठगिएको घटना सार्वजनिक भएपछि त्यहाँको स्थिति तनावग्रस्त भएको थियो । ठगिनेमा कतिपय स्थानीय तहका जनप्रतिनिधिसमेत छन् ।

वान प्लस वानको नाममा कम्पनीको अध्यक्ष भनिएकी चाबहिलकी शोभाकुमारी श्रेष्ठ र राजनकुमार श्रेष्ठले रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापा मगरसँग १२ लाख ५० हजार, रामेछापकै उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीसँग २५ लाख रुपैयाँ लिएका थिए । उमाकुण्ड गाउँपालिकाका अरु तीन जनासँग पनि ठूलै रकम उठाएको बुझिएको छ ।

उनै उर्मिलाका देवर देवराज बस्नेतसँग १२ लाख ५० हजार रुपैयाँ लिएको बताइन्छ ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा निर्वाचन अधिकृतको रुपमा काम गरेका सीताराम केसीसँग भने उक्त कम्पनीले ७० लाखभन्दा बढी लिएको बताइन्छ । सबैभन्दा बढी गगन थापा मगरसँग १ करोड १५ लाख रुपैयाँ लिएको पीडितहरूले दाबी गरेका छन् ।

टिप्पणीहरू