डक्टर,नर्सलाई थप दु:ख

डक्टर,नर्सलाई थप दु:ख

कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विदा बस्न नपाउने भएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले देशभरका अस्पतालहरुलाई पत्र लेखेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिदा नदिन भनेको छ ।

‘कोभिड संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको उचित एवं प्रभावकारी उपचार व्यवस्थापनका लागि देहाय बमोजिम गर्न गराउन नेपाल सरकार निमित्त सचिवस्तरीय मिति २०७८/०१/१४ को निर्णयअनुसार अनुरोध छ’,पत्रमा भनिएको छ ।

पत्रमा अस्पतालमा कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन पनि भनिएको छ। त्यस्तै,अस्पतालमा दरवन्दी रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिइएको छ। थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन गरिएको छ ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले पठाएको पत्रमा आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न भनिएको छ ।

मन्त्रालयले सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार,उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

टिप्पणीहरू