बालाजु बाइसधारा यो वर्ष पनि सुनसान

बालाजु बाइसधारा यो वर्ष पनि सुनसान

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यो वर्ष पनि स्थगित भएको छ ।

मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगित गरिएको बालाजु बाइसधारा उद्यान कार्यालयले बताएको छ । कार्यालय प्रमुख दामोदर लामाका अनुसार मेला लाग्दा भीडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगित गरिएको हो ।

आज चैत्र शुक्ल पूर्णिमा हो । आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहि आएको छ ।

आजै बिहान नागार्जुनको टुप्पोमा रहेको जामाचो डाँडामा पुगी फर्केर बाइसधारामा स्नान गरिसकेपछि नजिकैको मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास समेत रहेको छ ।

संक्रमण नफैलियोस भनेर बाइसधारा प्रवेशमा रोक लगाइए पनि दर्शनार्थीहरू उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका देखिन्छन् ।

टिप्पणीहरू