आइपिएललगायतका खेलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

आइपिएललगायतका खेलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका खेलहरूमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट पक्रिएका उनीहरूबाट सट्टेबाजीमा प्रयोग गरिएका १७ थान मोबाइल, २ लाख ९६ हजार रुपैयाँ नगद, डायरी, बिटिङमा हिसाब किताबको लागि प्रयोग भएका कागजातहरूसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बनस्थली बस्ने कैलालीको धनगढी नगरपालिका–२ का ३१ वर्षीय अशोक सिंह, काठमाडौं ठमेल बस्ने भारत बिहारका २९ वर्षीय विक्रमकुमार जैसवाल, रौतहट गौर नगरपालिका–१ का २८ वर्षीय राहुल कुमार जैसवाल, चौरीदेउराली गाउँपालिका–८, काभ्रेपलाञ्चोकका ३६ वर्षीय राजु थापा, धादिङको गल्छी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष खतिवडा, ललितपुर जावलाखेल बस्ने भारत बिहारका ३१ वर्षीय अंकितकुमार कलवार छन् ।

त्यसैगरी काठमाडौं कालिमाटी बस्ने विराटनगर महानगरपालिका–३ घर भएका ३० वर्षीय संदिप कुमार मण्डल, काठमाडौं महानगरपालिका–२३ बस्ने भारत हिमाञ्चलका ४६ वर्षीय सुशील जेस्टा, काठमाडौं लाजिम्पाट बस्ने भारत राजस्थानका ३१ वर्षीय पवनकुमार शर्मा, भारत सोही स्थानका ३० वर्षीय सुचित अग्रवाल र काठमाडौं जमल बस्ने भारत बिहारका ४० वर्षीय मुकेश जैसवाल पनि पक्राउ परेका छन् ।

भारतमा हाल भइरहेको आइपीएल तथा प्रिमियर लिग फुटबल, ला लिगा, सेरी ए लिग, युइएफए च्याम्पियन लिगलगायतका खेलहरूमा सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट अनलाइन बिटिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले भारतलगायत अन्य मुलुक समेतबाट सट्टेबाजी गर्न युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरू खोज्ने, हार जित भएका व्यक्तिहरूबाट रकम लिने तथा उनीहरूसम्म पुर्याई दिने कार्य गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलाइएको छ ।

टिप्पणीहरू