‘हाम्लाई खोप किन नलगाउने ?’ भन्दै सैनिक अस्पतालमा विवाद

‘हाम्लाई खोप किन नलगाउने ?’ भन्दै सैनिक अस्पतालमा विवाद

नेपाली सेनामा कार्यरतका परिवारलाई कोरोनाविरुद्धको खोप नलगाइएको सम्बन्धमा आज सैनिक अस्पताल छाउनीमा विवाद भएको छ । अस्पतालमा रहेको कोभिड–१९ खोप केन्द्रमा सैनिक परिवारलाई खोप नलगाएपछि उपस्थित परिवारका सदस्यले ‘हाम्लाई खोप किन नलगाउने ?’ भन्दै कराएका थिए ।
खोप लगाउने वा नलगाउनेबारे चर्को आवाज उठेको र महासेनानी प्रा.डा.सुनिता पन्तले सैनिक परिवारलाई समेत खोप खुल्ला गरिएको जानकारी गराएपछि विवाद समाधान भएको बताइएको छ ।
अस्पताल स्रोतले छाउनीबाट कोरोना विरुद्धको खोप लगाउनेको संख्या झण्डै दुई हजार पुगेको बताएको छ । जसअनुसार कार्यरत सैनिक पाँच सय ५४ जना, सैनिक परिवार एक सय एक जना, सर्वसाधारण ९ जना,सेवानिवृत्त सैनिक एक सय ३० जना, सेवा निवृत्त सैनिक परिवार एक सय ५८ जना रहेका छन् ।
त्यसैगरी, सर्वसाधारणको बुथमा दोस्रो खोप लगाउने कार्य आजबाट बन्द गरिएको बताइएको छ । पछिल्लो विवरणअनुसार खोप लगाउनेमध्ये पहिलो डोज नौ सय ५२ जना र दोस्रो डोज ५२ जनाले लगाएका छन् ।
अस्पतालले हालसम्म संक्रमित बिरामीको संख्या आठ सय ११ जना पुगेको र तीमध्ये सक्रिय संक्रमित अझै २८ जना रहेको बताएको छ । त्यसैगरी हालसम्म मृत्यु हुनेको संख्या ५० जना पुगेको छ भने निको भई घर फर्केकाको संख्या सात सय ३६ जना पुगेको छ । अस्पतालमा हाल उपचारार्थ रहेका संक्रमितको संख्या ३३ छ ।

टिप्पणीहरू