छलछाममा कीर्तिमान् : व्यवस्थाको अपमान

छलछाममा कीर्तिमान् : व्यवस्थाको अपमान

– समाजवादी केटो

‘जीवन्त पार्टीमा अनेक किसिमका विवादहरु हुन्छन् । डेढ दर्जन समूह मिलेर बनेको पार्टी नेकपा एमालेमा ती समूहबीच कति मतभिन्नता थिए होलान् ? पटक पटक विवाद भएका छन् । ती सबैका असन्तुष्टि समेटेर नेकपा एमाले बनाउने माधव नेपाल र मदन भण्डारी हुन् । आज मदन भण्डारी हुनुहुन्न तर शुरुदेखि नै कसरी नेकपा एमाले बन्यो भन्ने साक्षी माधव नेपाल हुनुहुन्छ । जसले पार्टी निर्माण गर्यो उसैलाई पछि माथिल्लो तहमा आएको व्यक्तिले कारवाही गर्ने ? सिध्याउन खोज्ने ? यो केपी ओलीको गल्ती हो ।

अहिले एमालेमा अनेक किसिमले जोडजाम गरेको शक्ति केपी ओलीसित छ । तर, दशौं, बीसौं वर्ष लागेर निर्माण भएको शक्ति र नेतृत्व माधव नेपालतिरै छ । अहिले एमाले मात्रै भन्ने अवस्था छैन । पार्टी विधान मिच्ने एमाले (ओलीपक्ष) र अर्को बिद्रोही एमाले (माधवपक्ष) छ । पार्टी निर्माणमा लागेका पुराना नेताहरु बिद्रोही एमालेमा गोलबद्ध हुन थालेका छन् ।’ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि आफ्नो छुट््टै मोर्चा बनाएर लागेका नेकपा एमालेका नेता वामदेव गौतम एउटा टेलिभिजन अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो ।

पंक्तिकारले यति नै बेला तत्कालीन नेकपाको विवाद सम्झिरहेको थियो । अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने, नभए बहुमतले हटाउने कुरा उठेपछि ओलीले कटाक्ष गर्दै भन्नुभएको थियो, ‘डेरामा बस्नेहरुले घर मालिकलाई हटाउने !’ तर आज तिनै ओलीले पार्टी निर्माणमा जीवित नेताहरुमध्ये सबैभन्दा बढी भूमिका भएका नेता नेपाललाई नै कारबाही गरेका छन् ।

अरु विषयमा विस्तारै कुरा गरौंला । तर, धेरै समूह मिलेर बनेको एमालेमा सुरुवाती चरणमै ओलीले नेतृत्व गर्न पाएको भए के एमाले अहिलेको अवस्थामा आइपुग्थ्यो ? आफूलाई एक नम्बरको दावी गर्ने ओलीले दुईवटा समूह (माओवादी केन्द्र र एमाले) को एकतालाई त जोगाउन नेतृत्व प्रदान गर्न सकेनन्, त्यतिबेला के गर्थे, प्रष्टै छैन र ?

१७ हजार मान्छे मार्ने भनी माओवादीको सत्तोसराप गर्ने तिनै ओलीले त्यही माओवादीबाट ल्याइते बादल, लेखराज र टोपबहादुरलगायतलाई मन्त्री उपहार दिइरहेका छन् । अदालतले अपराधी भनी जेल पठाएका र पुलिसको फरार सूचीमा रहेका बालकृष्ण ढुंगेल र कालिबहादुर खामहरु ओलीका अतिप्रिय भएका छन् अचेल ।

२०६२/०६३ सालको जनआन्दोलनताका ‘ब्याकबेञ्चर’ को भूमिकामा रहेका ओलीले संविधानसभायता कटुवचनका कारण आफूलाई स्थापित गरेको भान हुन्छ । ओलीको वाककला देखेर माधव नेपालले १५ वर्ष महासचिव हुँदा पार्टीलाई ‘न भाले न पोथी’ बनाएको आरोप लगाउनेहरु पनि छन् । तर, पञ्चदेखि कांग्रेससँग मिल्नसक्ने शालिनताकै कारण नेकपा एमाले विषम् अवस्थामा पनि देशका कुनाकाप्चा र घरघरमा पुग्यो । विद्यालय व्यवस्थापन, उपभोक्ता समितिदेखि गैरसरकारी संस्थामार्फत सांगठानिक रुपमा मजबुत बन्न सक्यो । त्यतिबेलाकै संगठनको बलमा नेकपा एमाले अहिले पनि बलियो अवस्थामा छ । यदि आफूलाई बलियो देखाउन आफ्नो पक्षधरता र स्वार्थका खातिर आफूलाई नरुचाउने अरु समूहका नेता र नेतृत्वलाई निषेध गर्दै हिँडेको भए माधव नेपाल पनि केपी ओलीजस्तै ‘कथित भाले’ नभए पनि ‘भाले वा पोथी’ त पक्कै हुन्थे होलान् । तर, केपी ओली नेतृत्वमा हुँदा जसरी न नेकपाको एकता जोगियो न त नेकपा एमाले नै सिंगो रहने अवस्था छ । हो, त्यस्तै हुन्थ्यो होला ।

सबै ठीकठाक चलेको बेला मात्रै नेतृत्व गर्ने पनि के नेतृत्व ! सबै ठीकठाक भएको बेला केपी ओलीसहितको सहभागितामा नेकपा बन्यो, त्यही बलमा झण्डै दुई तिहाई मत पनि आयो । केपी ओली प्रधानमन्त्री बने, उनकै भाषामा १ नम्बर अध्यक्ष पनि । तर, जब अवस्था ठीकठाक रहेन । पार्टीमा फरक मत आउन थाले । पार्टी पद्धति, सरकार सञ्चालन र सामूहिकताका सवालहरुबारे चर्चा हुन थाल्यो । तब ओलीको नेतृत्व क्षमता परीक्षण भयो । तर, अदालतका कारण मात्रै ओली अहिले यो हैसियतमा छन् । प्राविधिक रुपमा प्रधानमन्त्रीको रुपमा शासन गरिरहेका छन् । यो हेर्दा व्यक्तिगत रुपमा ओलीलाई लागेको होला– घेराबन्दी तोडेर बलियो भैयो । ओलीपक्षधरलाई पनि लागेको होला ओली एक्लैले सबैलाई ठेगान लगाउन थालेका छन्, वा रे वा कति बलवान !
तर, अहिलेको संकटमा ओली कुनै पनि हिसाबले परीक्षणबाट पार लागेको अवस्था होइन । ओलीको नेतृत्व क्षमतालाई देवत्वकरण गर्नेहरु मात्रै उनको समूहमा रहेकाले ओलीको साख केही बाँकी छ । त्यो समूहमा सबै सहयोगी मात्रै रहेकाले तिनैको सहयोगले ओलीले जे गर्दा पनि गज्जब गरेको जस्तो लागिरहेको छ । तर, एकचोटी ओलीलाई त्यो समूहभन्दा पर राखेर अनुमान गरौं त, बाँकी रहेकाहरुको नेतृत्वमा बन्ने पार्टी वा एमाले कस्तो होला ? इतिहासको कुनै मोडमा त्यो प्रष्ट हुने नै छ ।

नेपाली राजनीति सधैं सापेक्षतावाद वा अनुकूलतानुसार जे पनि ठीक भन्ने मनोविज्ञानबाट चलिरहेको छ । त्यसको उदाहरण पुस ५ को प्रतिनिधिसभा विघटनलाई लिऔं । यदि, त्यो घटनाका पात्र देउवा वा प्रचण्ड भएको भए संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको धारणा के आउँथ्यो होला ? आफ्नो इतर रहेका माओवादी र आफ्नो पक्षमा रहेका माओवादीबारेको बुझाई हेरौं । त्यसैगरी २०७४ साल भदौं ७ गतेको टीकापुर घटनाका सम्बन्धमा तत्कालीन एमाले अध्यक्ष ओली र अहिलेका ओलीको व्याख्या र बुझाई कस्तो छ ?

ताजा घटनाका रुपमा दल अदलबदल र संसदमा पार्टीको ह्वीप उल्लंघन घटनाको सन्दर्भलाई हेरौं । नेकपा (माओवादी केन्द्र) बाट १३ जना सांसदले एमाले रोजे । त्यसरी रोजेका प्रायः सबैलाई ओली पक्षले पुरस्कार स्वरुप मन्त्री पद दिएको छ । तर, कर्णालीमा एमालेका ४ जना सांसदले ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीमा माओवादीलाई सहयोग गर्दा त्यही पक्षले नैतिकताको चर्को भाषण गरिरहेको छ । ४ जनालाई खरिद गरियो, करौडौं दिइयो, मन्त्री पद दिइयो । यो कस्तो विचलन ? यो कस्तो अपराध ? यसो भनिरहँदा माओवादीबाट आएकाहरुलाई कतिमा किनियो ? उनीहरुको के के खत माफ गरियो ? भनी प्रश्न उठ्दैन र ! त्यसैले कतिपयले त संविधान नै क्रस गर्नेले फ्लोर क्रस गर्ने कुरालाई ठूलो बनाउन सुहाउँदैन भनेर उडाइरहेकै छन् ।

आफ्नोले जति गल्ती गरे पनि सबै खत माफ । आफ्नो गुटमा त्वमशरणम् गर्ने सबै राम्रा, अरु सबै खत्तम् । यही मनोविज्ञानबाट नेपाली राजनीति चलिरहेको छ । अहिले ओली समूह यो मनोविज्ञानको गतिलो पक्षपोषक हो । किनकि अस्ति एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाललाई कटाक्ष गर्ने क्रममा भने, ‘२४ जना मान्छे मार्ने आफ्ताब आलमलाई कारवाही नगरी माधवले काँग्रेसबाट मन्त्री बनाए ।’ तर, १७ हजार मान्छे मार्ने भनी माओवादीको सत्तोसराप गर्ने तिनै ओलीले त्यही माओवादीबाट ल्याइते बादल, लेखराज र टोपबहादुरलगायतलाई मन्त्री उपहार दिइरहेका छन् । अदालतले अपराधी भनी जेल पठाएका र पुलिसको फरार सूचीमा रहेका बालकृष्ण ढुंगेल र कालिबहादुर खामहरु ओलीका अतिप्रिय भएका छन् अचेल । हिजो जनताको रगत चुसुवा भनेर ओलीले कटाक्ष गर्नेहरु अचेल लोकतान्त्रिक योद्धाको रुपमा प्रकट भइरहेका छन् ।

कम्युनिष्ट भनिए पनि नेपालका सबै दलहरु बहुदलीय प्रतिष्पर्धामा विश्वास गर्छन् । ती दलहरुमा लोकतान्त्रिक मूल्य, मान्यतानुसार अधिवेशनमार्फत नेतृत्व छनौट हुन्छ । एउटै व्यक्ति जीवनकाल एउट पदमा रहँदैन र रहन सम्भव छैन । नेतृत्वको भूमिका र परिवर्तनमा खेलेको भूमिकानुसार सम्मान र श्रद्धा भने सधैं गर्न सकिन्छ । कतिपय कामका लागि ओली पनि सम्मानका पात्र होलान् । तर, क्युवा, उत्तरकोरिया र चीनको जस्तो ‘यत्रतत्र सर्वत्र’ एउटा व्यक्तिको रजगज सम्भव छैन । हाम्रो व्यवस्थाले यस्तो प्रवृतिलाई न अंगिकार गर्छ न स्वीकार नै । न कुनै नेतालाई देवत्वकरण गर्न सकिन्छ । अहिले फरक विचार समूह, फरक गुट, फरक मान्यता राख्नेलाई निषेध गर्ने र हरेक गल्तीमा पनि थपडी मार्नेलाई पुरस्कृत गर्ने राजनीतिक प्रतिस्पर्धाले पार्टी र मुलुकलाई फाइदाभन्दा क्षति बढी पु¥याइरहेको छ ।

उपयुक्त समयमा उपयुक्त सुझबुझ भएन भने अवस्था कस्तो हुन्छ त्यो माओवादीलाई हेरे हुन्छ । युद्धबाट एकैचोटी शान्तिमा र बुलेटबाट ब्यालेटमा आउँदा व्यवस्थित संगठनविनै नेकपा (माओवादी) ले २०६४ सालको संविधानसभामा अभूतपूर्व विजय हासिल ग¥यो । तर, पार्टीको मूल नेतृत्व र अरु नेताहरुको महत्वकांक्षाका कारण एकाध वर्षमै माओवादीको हविगत गठबन्धनविना एक्लै केही सिटबाहेक कतै नजित्ने अवस्था बन्यो । माओवादी जन्माउनेमध्येका धेरै नेताहरु छिन्नभिन्न हुँदा एकीकृत माओवादीको नाममा जनयुद्धमा भूमिका नभएकाहरुको पार्टीमा बोलवाला बढ्दा यो हविगत भएको प्रष्ट छ । अहिले ओलीले पनि एमाले जन्माउनेहरुलाई पाखा लगाएर जनमत नभएका नेताहरुलाई बोकी बलियो एमालेको कल्पना गरिरहेका छन् । सत्ताको रापले सेक्न पाएपछि अरुले पनि त्यसमा कुनै फरक मत जाहेर गरेका छैनन् ।

यसर्थ पार्टी विभाजन र अस्थिरताले कुनै अमुक पार्टी र नेतृत्वलाई क्षणिकरुपमा फाइदा पुग्ला तर देशलाई कुनै पनि कोणबाट फाइदा हुँदैन । बहुदलीय व्यवस्थामा पार्टीहरु जति बलिया हुन्छन् विकास र समृद्धिका योजना पनि त्यति नै बलियो बन्दै जान्छन् । छलछाम र तिकडममा प्रतिस्पर्धा गर्न थालेमा विकासका योजना अवरुद्ध हुन्छन् । जसरी अहिले भइरहेको छ । अहिलेको सरकारले विकासमा तथ्यगत उत्कर्षमा पुग्ने अवस्था भइदिएको भए अबको केही समयमा हुने चुनावमा अर्को पक्षले बाध्य भएर त्योभन्दा बढी विकास गर्ने अठोट गर्नुपथ्र्यो, यसले देशको हित हुन्थ्यो ।

तर, नेकपा र अहिले एमालेको नाममा भइरहेका तिकडमले अबको निर्वाचन पनि केवल गाली र आलोचनामै केन्द्रित हुने निश्चित छ । विडम्बना नै भन्नु पर्छ विकासमा प्रतिस्पर्धा हुनुपर्ने बेला फेरि पनि गालीमा प्रतिस्पर्धा हुने र गालीमा जसले कीर्तिमान रच्यो उसैले ताली पाउने अवस्था विद्यमान छ । यो अवस्थाबाट उन्मुक्ति पाउन जरुरी छ ।

टिप्पणीहरू