एमालेमा को ‘डिफ्याक्टो’, को ‘डिजुरे’?

एमालेमा को ‘डिफ्याक्टो’, को ‘डिजुरे’?

२०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकतापश्चात् गठित एकीकृत पार्टीको महासचिवमा एमालेले एकाएक विष्णु पौडेललाई अगाडि ल्याएपछि धेरैले अचम्म माने । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेललाई आउट गरी उपमहासचिव पौडेल शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिवका रुपमा उदाएपछि अचम्म लाग्नु स्वाभाविकै थियो ।

झन्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेको शक्तिशाली पार्टीको महासचिवका रुपमा पौडेलले पुग नपुग दुई वर्ष पार्टीमा मज्जैले स्थान लिनुभयो । तर अदालतको निर्णयपछि २०७५ जेठ २ मा पुगेको एमालेमा पनि अप्रत्यक्ष रुपमा पौडेल नै महासचिवका रुपमा सक्रिय देखिनुहुन्छ । यद्यपि अरु सबैका पद खोसिँदा पनि ईश्वर पोखरेलको पद भने कायमै छ ।

महासचिवको आधिकारिक जिम्मेवारी पोखरेलसँगै भए पनि व्यवहारिक रुपले सो भूमिकामा पौडेल सक्रिय देखिँदै आउनुभएको छ । अन्तरसंघर्ष व्यवस्थापनको नाममा होस् अथवा अन्य आन्तरिक छलफलमा महासचिव पोखरेलमाथि पौडेल हाबी बन्नुभएको आँकलन गर्न थालिएको छ ।

सतहमा विभिन्न पात्रका नाम चर्चामा आए पनि अघिल्लो साता मेरियट होटलमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच झन्डै डेढ महिने संवादहीनता तोड्न पौडेलकै भूमिका निर्णायक रहेको चर्चा छ । दुई नेताबीच भेटघाटको चाँजोपाँजो मिलाउनेदेखि ठाउँ व्यवस्थापनसम्म पौडेलले रोल खेलेको दाबी गरिन्छ । त्यसो त, ओली र नेपालले भेट गरेकै होटलमा त्यति नै बेला पौडेल झुल्किनु भएको थियो ।

नेताहरूबीच वार्ता भइरहँदा पौडेल होटलबाट निस्कँदा जनआस्थाले सोधेको थियो ‘उहाँहरूलाई मात्र छाडेर किन निस्कनुभयो रु’ तर आफू उक्त वार्तामा नभई अर्कैै सन्दर्भमा होटलमा रहेको जानकारी दिनुभयो । शीर्ष नेतृत्ववीच वार्ताको सन्दर्भमा पौडेल होटलभित्रै रहेपनि उहाँले आफू उक्त वार्तामा संलग्न नरहेको दाबी गर्नुभएको थियो ।

एमालेको अहिलेको अन्तरसंघर्षमा पोखरेल र पौडेल ओलीकै साथमा हुनुहुन्छ । एमालेको नवौँ महाधिवेशनमा दुबैले ओली प्यानलबाट जितेको भए पनि पौडेललाई अध्यक्ष ओलीको आशिर्वाद धेरै मिलेको प्रष्ट छ । ओलीलाई खुशी बनाउन पोखरेलले जति पापड बेले पनि उहाँ आफ्नै कारणले सफल बन्न नसकेको एमाले वृत्तमा चर्चा छ ।

बालुवाटार निकट एक नेता भन्छन्, ‘एमालेमा अहिले डिफ्याक्टो र डिजुरे दुई जना महासचिव जस्तो देखिएको छ । ईश्वर कमरेड नाममात्रको महासचिव जस्तै भूमिकाविहीन देखिनुभएको छ । यसमा अरुको भन्दा पनि उहाँकै कार्यशैली जिम्मेवार देखिन्छ ।’

अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले पार्टीमा लगातार हस्तक्षेप बढाउँदै आफूलाई अहिले पनि महासचिवकै रुपमा सक्रिय बनाउँदा पोखरेल भने राजकीय भूमिकामा सीमित देखिनुभएको छ । पोखरेलले केही दिनअघि सरकारका सचिवहरूलाई सिंहदरबारमा बोलाएर ‘सरकारी कर्मचारीको काममा कहिल्यै परिवर्तन नआएको र सँधै झिँगा टाँस्ने काम गरेको’ भनेर थर्काएको प्रसंग कोट्याउँदै तिनै नेता भन्छन्, ‘रुखो बोली,ठाडो स्वभाव र फाइदाका निम्ति पिपलपाते बानीका कारण उहाँलाई पार्टीमा धेरैले रुचाउन छाडेका छन् । त्यसैले उहाँले आफूलाई सच्याउनुपर्ने देख्छु म त !’

पौडेल भने पोखरेलको ठीक विपरित स्वभावका हुनुहुन्छ । यहि शैलीका कारण उहाँ पार्टीमा हावी हुँदै जाँदा कडा बोल्ने र अरुलाई चिढ्याउने तथा आरिसे स्वभावका कारण पोखरेल पछि परेको बताइन्छ । माओवादीसँगको एकता प्रक्रियामा उदासीन बनेपछि पोखरेललाई महासचिवबाट फालेर पार्टी एकता गराउन भूमिका खेलेवापत पौडेल महासचिव बन्नुभएको उतिबेलै चर्चा थियो ।

अहिले एमाले र माओवादी दुई फ्याक भइसक्दा पनि पौडेल प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अझै प्रचण्डलगायत पूर्व माओवादीका नेताहरूसँग सम्पर्कमै रहेको बताइन्छ । कुटिल शैली, समन्वयकारी भूमिका र शालीन व्यक्तित्वका कारण पौडेलले पार्टीमा भूमिका बढाउँदा रुखो र सानो घेरामा रहन रुचाउने स्वभावका कारण पोखरेल कमजोर बन्दै गएको विश्लेषण एमालेहरू नै गर्ने गर्छन् ।

टिप्पणीहरू