पोखरामा बादल तानेर पानी पार्ने प्रयास

पोखरामा बादल तानेर पानी पार्ने प्रयास

प्रदेशसभाको अंकगणितमा स्पष्ट अल्पमत हुनुका वावजुद सरकार जोगाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रयास जारी छ । माओवादी केन्द्रले साथ छोडेपछि जनमोर्चाको टेकोमा सरकार थाम्ने प्रयास सफल भएको छैन ।

केन्द्रीय राजनीति र लुम्बिनी प्रदेशलाई देखाएर जसपालाई गरिएको आग्रहले पनि काम नगरेपछि माओवादीमा गृहमन्त्री रामबहादुर थापा बादल पक्षका भनेर चिनिएका (नेकपा हुँदा) सांसदहरुलाई फकाएर फ्लोर क्रस गराउने रणनीति अघि बढाइएको बताइन्छ । यद्यपि त्यो सम्भावना निकै कमजोर रहेको एक सांसदले बताए ।

जसपा संसदीय दलका नेता हरिशरण आचार्यले सत्तापक्षबाट त्यस्ता प्रयास हुन सक्नेतर्फ आफूहरु सचेत रहेको बताउनुभयो । ‘सत्ता पक्षले त्यस्ता प्रयास गरेको हुनसक्छ, तर मैले बुझेसम्म अहिलेसम्म हाम्रो गठवन्धनमा कुनै समस्या छैन’,उहाँले भन्नुभयो ।

यसअघि बादलनिकट भनिएका हरिबहादुर चुमान, दीपा रोका र चन्द्रबहादुर बुढा माओवादी केन्द्रका सांसद हुन् । चुमान संसदीय दलका नेता भएकाले सत्तापक्षले अरु दुई जनालाई फ्लोर क्रस गराउन प्रयास गरेको हुनसक्ने आशंका विपक्षीहरुको छ । बादल पक्षको भनिए पनि तीनै जना माओवादी केन्द्रमै छन् । ‘बादल एमालेमा जाँदासमेत माओवादीमै रहनुभएका साथीहरुबाट फ्लोर क्रस हुने कुराको कल्पना पनि गर्न सकिंदैन’, माओवादी केन्द्रका एक नेताले भने, ‘यदि यस्तो प्रयास कहिँ कतैबाट गरिएको हो भने म सत्ता पक्षलाई असफल प्रयासमा नलाग्न आग्रह गर्छु ।’

यता, एमालेका सांसद इन्द्रप्रसाद सापकोटाले फ्लोर क्रस गर्न सक्ने डर सत्ता पक्षलाई छ । कर्णालीमा माधव नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए । सापकोटा गण्डकीमा नेपाल पक्षका एकमात्र सांसद हुन् । निर्णायक अवस्थामा सापकोटाले साथ दिने विपक्षीहरुको बुझाइ छ । त्यसो त सापकोटाले फ्लोर क्रस गर्न सक्ने बालुवाटारले पनि अनुमान लगाएको बताइन्छ ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक हुन्छ । एमालेसंग २७ जना छन् । एक जना स्वतन्त्र सांसद दिपक मनाङ्गे गुरुङको पक्षमा उभिँदा पनि सरकार जोगाउन मुख्यमन्त्री गुरुङलाई थप ३ सांसद पुग्दैन । त्यहि तीन जना चोर्न अहिले अनेक प्रयास भएको हुनसक्ने सांसद आचार्यले आशंका गर्नुभयो ।

प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । सबैले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्दा पनि ठ्याक्क बहुमत मात्र पुग्ने अवस्था भएकाले विपक्षी गठवन्धनलाई फ्लोर क्रसको त्रास बढेको हो ।

अविश्वास प्रस्ताव टेबल

मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा आजै अविश्वासको प्रस्ताव टेबल भैसकेको छ । आजैबाट शुरु भएको संसद्को विशेष अधिवेशनमा प्रस्तावित नयाँ मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले अविश्वास प्रस्ताव पेश गर्नुभएको हो ।

प्रस्तावउपर पर्सि मतदान हुने सांसद आचार्यले बताउनुभयो । उहाँका अनुसार भोलि दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

काँग्रेस,माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । आफूविरुद्ध दर्ता हुन लागेको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले हतारमा रातारात हाउस बन्द गरेपछि विपक्षी गठवन्धनले विशेष अधिवेशन माग गरेको थियो ।

विपक्षीको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले आजका लागि अधिवेशन आव्हान गर्नुभएको हो ।

टिप्पणीहरू