सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

धनुषा र बैतडीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८, रामानन्द चोकस्थित सडकमा ना४ख ८०६१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६८ वर्षीया बेचनीदेवी मण्डलको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, बैतडीको पाटन नगरपालिका–६ स्थित सडकमा सु।प।प्र।०१–००१ च ३७७ नम्बरको जन्ती बोकेको जिप सडकबाट करिब १ सय मिटर तल खस्दा जिपमा सवार सोही ठाउँका ५५ वर्षीय देवीलाल जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये ७ जनालाई माया मेट्रो अस्पताल धनगढी, २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा र २ जनालाई जिल्ला अस्पताल बैतडीतर्फ उपचारका लागि पठाइएको छ ।

टिप्पणीहरू