सुरक्षा परिषद्को सचिवालय सर्यो

सुरक्षा परिषद्को सचिवालय सर्यो

सिंहदरबारस्थित पुतली बगैंचामा रहेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारस्थित नेपाली सेनाको क्याभलरी (घोडचढी पल्टन) रहेको स्थानमा सरेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि त्यहाँबाट सरेको परिषद्को सचिवालय आफ्नै नवनिर्मित भवनमा सरेको हो । आज बिहान वैदिक पूजापाठ गरी परिषद्को सचिवालय त्यहाँ सारिएको हो ।

यसअघि सिंहदरवारस्थित रक्षा मन्त्रालयकै भवनमा रहेको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय माओवादी तह लगाउन युनिफाइड कमाण्डको अवधारणाअनुसार २०५८ साल फागुनमा स्थापना भएको थियो । त्यतिबेला दोहोरो भत्ता दिइने चलन रहेकोमा अहिले भने उक्त सचिवालय आफूलाई मन नपर्ने कर्मचारीलाई थन्काउने रध्दिको टोकरीजस्तो बन्दै आएको कर्मचारीहरूको गुनासो छ ।

सचिवालयमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,राष्ट्रिय अनुसन्धान विभागलगायत सबै सुरक्षा निकायका अधिकृतहरू रहेता पनि उक्त निकाय पछिल्लो समय उपेक्षामा पर्दै आएको बताइन्छ । सचिवालय अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ । जसको अध्यक्ष प्रधानमन्त्री र रक्षा सचिव संयोजक रहने व्यवस्था छ ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा सरेसँगै यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको स्थानमा भने गृह मन्त्रालय सार्ने तयारी हुँदैछ ।

टिप्पणीहरू