सरकार संवेदनशील नभएको सांसदहरूको गुनासो

सरकार संवेदनशील नभएको सांसदहरूको गुनासो

सांसदहरूले कोरोना महामारीको बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि सरकार संवेदनशील नबनेको बताएका छन् । आफैंले बनाएको मापदण्डविपरित सरकारले कार्यक्रम र उद्घाटनका नाउँमा भीड जम्मा गराउँदा संक्रमण बढेको उनीहरूको आरोप छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी सांसदहरूले सरकारलाई कोरोना नियन्त्रण र बिरामीको उपचारमा केन्द्रित हुन सुझावसमेत दिएका छन् । सांसदहरूले बजेट अभाव भए रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गर्नुभयो । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँच्ने तर गरिबले उपचार नै पाउन नसक्ने अवस्था रहेको बताउँदै उहाँले विभिन्न क्षेत्रमा बजेट रकमान्तर भइरहेको तर त्यस्तो रकम कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधी र अस्पतालको व्यवस्थापनका लागि रकम उपलब्ध गराउन नसकेको उहाँको भनाई छ । कोभिडविरुद्धको खोप आफैँ सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भएपनि बिरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै,नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेको बताउँदै सीमावर्ती जिल्लाहरूका स्वास्थ्यकर्मीले हात उठाइसकेको बताउनुभयो । यस्तो अवस्थामा समितिले सरकारलाई आफैँले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरबाही गरिरहेको आरोप लगाउनुभयो । सरकारले आफैँ मापदण्ड बनाई नागरिक र विभिन्न निकायहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको तर आफैँले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने काम गरिरहेको उहाँको भनाइ छ ।

त्यस्तै, नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लाण्टहरूलाई मर्मत गरेर सञ्चालन गर्न उदासीन बनेको बताउनुभयो । कोभिड संक्रमित बिरामीलाई अक्सिजन अत्यावश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसतर्फ सरकारको ध्यान नगएको भन्दै उहाँले सरकारले भएका प्लाण्टहरू बिगारेर कमिसनको खोजीमा हिँड्ने र जनतालाई हाहाकारमा धकेलेर सहुलियतको कुरा गरिरहेको आरोप लगाउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भएको अक्सिजन विदेश पठाएर अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने सरकारको तयारीको आपत्ति जनाउनुभयो । सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन खोजिएको बताउँदै उहाँले यस्तो कार्यमा संलग्न उद्योगी व्यवसायीहरूलाई जनतासामु ल्याउनुपर्नेमा जोड दिनुभयो ।

समितिले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि के कस्तो काम भइराखेको छ भन्ने सम्बन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय गरेको छ । कोभिडको बहानामा सुशासनका विषयहरूमा कमजोरी हुनसक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

 

टिप्पणीहरू