नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्रीलाई सम्झेर

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्रीलाई सम्झेर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान ओली सरकारले विकृति विसङ्गतिलाई प्रश्रय दिइरहेको बताउनुभएको छ । पार्टीका संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा आज वक्तव्य जारी गर्दै नेता नेपालले सामान्य किसान र गरिब परिवारले राहत महसुस गर्ने गरी सरकारले काम गर्न नसकेको बताउनुभएको हो ।

२०५१ सालमा स्वर्गीय अधिकारीले ९ महिना सरकारको नेतृत्व गर्दा लोकप्रिय काम भएको स्मरण गर्दै नेता नेपालले अहिले कम्युनिष्ट सरकार जनउत्तरदायी बन्न नसक्दा अधिकारीको अभाव खड्किएको पनि बताउनुभएको छ । ‘२०५१ सालको ९ महिने सरकारको नेतृत्व गर्दा उहाँको नेतृत्वमा हामीले अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा कमरेड मनमोहन एवम् नेकपा एमालेप्रतिको श्रद्धा कहिल्यै नमेटिने गरी बसेको छ,’ नेपालले भन्नुभएको छ, ‘अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति,विसङ्गतिलाई प्रश्रय दिने काम हुनु र किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको छ ।’

नेता नेपालले राष्ट्रिय स्वाधिनता, कम्युनिष्ट एकता र देश विकासमा स्वर्गीय अधिकारीले पुर्याउनु भएको योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न नेता–कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।

त्यसैगरी,उपप्रधानमन्त्री तथा एमाले नेता ईश्वर पोखरेलले पनि मनमोहन स्मृति दिवसका अवसरमा एमालेको एकतालाई बलियो बनाउन आह्वान गर्नुभएको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै उहाँले स्वर्गीय अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै एक ढिक्का भएर सक्रियतासाथ एकताका पक्षमा लाग्न आह्वान गर्नुभएको हो । पोख्रेल प्रधानमन्त्री अधिकारीको प्रमुख राजनैतिक सल्लाहकार हुनुहुन्थ्यो ।

वि.सं. १९७८ सालमा काठमाडौँमा जन्मिनुभएका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो । अंग्रेजविरुद्ध भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिनुभएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

अधिकारी समकालीन राजनीतिक नेताहरुमा इमान्दार,शालीन, निष्ठावान र सरल मानिनुहुन्थ्यो । २०५१ सालमा उहाँले ९ महिना अल्पमतको सरकार चलाउँदा ल्याएका ‘आफ्नो गाउँ आफैँ बनाऔं,’ ‘बृद्ध भत्ता’ जस्ता कार्यक्रमले लोकप्रियताको उचाइ लिएका थिए । एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले मासिक ३ हजार रुपैयाँ छ भने आगामी दिनमा ५ हजार रुपैयाँ पुर्याउने बताइएको छ ।

टिप्पणीहरू