बाबाजी बनेर देश डुलेका थिए विप्लव

बाबाजी बनेर देश डुलेका थिए विप्लव

बाबा, कहाँ जाना है ? सिरहाको लहानस्थित हस्पिटल चोकमा गेरूवस्त्रधारी बाबाजीलाई ईरिक्सा चालक पडरिया निवासी ललन चौधरीले प्रश्न गरे ।

जवाफ आयो – ठाडी जानु छ, पैसा कति ?
ललनले २ सय ५० रूपैयाँ भाडा लाग्ने बताए । ठाडी सिरहाको दोश्रो ठूलो नेपाल– भारत नाका हो ।

ती बाबासँगै थिए महोत्तरीको बर्दिवास, हात्तीलेट निवासी टेकबहादुर बलम्पाकी । ई–रिक्सा हुइँकिन्छ लहानबाट करिब १७ किलोमिटर दक्षिणमा रहेको ठाडीतिर । बाटामा अनेकन राजनीतिक संवाद हुन्छन् बाबा र बलम्पाकीबीच । ईरिक्सा चालक बाबाको राजनीतिक संवादले तीन चित खान्छन् ।

ठाडीसँगै जोडिएको लौकहा हुँदै ती भारत छिर्छन् । भारत छिर्ने क्रममा बाबाले नेपाल – भारतको दशगजामा रहेको सशस्त्र प्रहरीको चेकपोष्ट हेर्छन् । छेउमै रहेको डोम समुदायको सुँगरका खोरहरू हेर्छन् । त्यसपछि ‘ल कामरेड, अहिलेलाई पक्राउबाट जोगियौँ , अरू अर्काे भेटमा छलफल गरौँला’ भनेर हात मिलाउँदै भारततिर लाग्छन् ।

ती बाबा हालै सरकारसँगको वार्तामार्फत मूलधारको राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन् । र, टेकबहादुर बलम्पाकी थिए तत्कालीन विप्लव नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का इञ्चार्ज । बलम्पाकीको दाबी छ – हो, सरकारले प्रतिबन्ध लगाएपछि विप्लव बाबाजीको भेषमा देश डुलेका थिए ।

बलम्पाकीका माइला दाइ बलबहादुर र साइँला नलबहादुर २०२८ सालदेखि चौमको पूर्णकालीन सदस्य थिए । र, सरकारले प्रतिवन्ध लगाएपछि विप्लव पनि केही समय हात्तीलेटमै बसेका थिए ।

प्रहरीको घेराबन्दीमा परेपछि विप्लव टेकबहादुरकै सहयोगमा बाबाजीको भेष धरेर लहान हुँदै ठाँडीबाट भारत छिरेका हुन् । तर, तिनै बलम्पाकी अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा केन्द्रीय सदस्य बनेका छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा एमाले छिरेका २३ जनामध्ये एक हुन् ।

अनि विप्लव आए मूलधारमा
विप्लवको राजनीतिक कार्यदिशा संयुक्त एकीकृत जनक्रान्न्ति थियो । यसमा सैन्य कार्यदिशा पनि थियो – तर लडाइँ लड्ने सामथ्र्य थिएन, सुसज्जित हतियार खरिद गर्न सक्ने अवस्था थिएन ।

विश्व परिस्थिति हतियार युद्धका लागि अनुकूल नभएको निचोड विप्लवले निकाले, बलम्पाकीले भने, ‘विप्लव गोञ्जालो बन्न चाहँदैनथे ।’

– सन्तोष बराइली

टिप्पणीहरू