कुन कुनमा नाम राख्न प्रधानमन्त्रीलाई हतारो

कुन कुनमा नाम राख्न प्रधानमन्त्रीलाई हतारो

प्रधानमन्त्री केपी ओलीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा ‘अस्वाभाविक’ ढिलाइ भएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिनुको खास कारण अर्कै रहेको बुझिएको छ । परियोजनामा संलग्न इञ्जिनियरहरू भन्छन्– उहाँ मेलम्चीझैं तामाकोशीको पनि शिलापत्र र ताम्रपत्रमा आफ्नो नाम राख्न चाहनुहुन्छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण काम कारबाही बालुवाटारसँग जोडिएका मान्छेबाट हुने गरेको छ । यस काममा बिचौलिया मीनेन्द्र मल्ल, इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका बुबा डिल्लीरत्न शाक्य परिचालित छन् । डिल्ली सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर नेपाल (सिन) का अध्यक्ष हुन् भने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यसैमा कोषाध्यक्ष छन् ।
प्रधानमन्त्री ओली र उहाँका विकासविज्ञ गजेन्द्र थपलियालगायत सचिवालयका सबै सदस्य, सञ्चारमन्त्री पार्वत गुरुङ (आयोजनास्थल दोलखाका सांसद) सबै माथिल्लो तामाकोशी ओलीका कारण सम्पन्न भएको देखाउन लागिपरेका छन् । प्रधानमन्त्रीबाट बढी दबाब आएपछि मुख्य सुरुङमा पानी हाल्न थालेकै दिन उद्घाटन गराउने तयारी भइरहेको उपप्रधानमन्त्रीबाट म्यादी ऊर्जामन्त्रीमा झरेका टोपबहादुर रायमाझीको सचिवालयका एक सदस्यले बताए ।

यसका लागि प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले प्राविधिक विषयमा गम्भीर खेलबाड गरेरै भए पनि छिटो उद्घाटनको साइत जुराउन खोजिरहेका छन् । ‘आयोजना अगाडि बढाउन र अहिलेको अवस्थामा ल्याइपु¥याउन शून्य भूमिका भएका प्रधानमन्त्रीले आफ्नो कारणले सम्पन्न भएको क्रेडिट लिन र शिलापत्रमा नाम लेखाउन अहोरात्र खटिएका कर्मचारीको हुर्मत लिने, निरास बनाउने अभिव्यक्ति दिनु खेदजनक भएको’ कार्यरत कर्मचारीको टिप्पणी छ । मेलम्चीमा पनि दबाबबीच सुरुङमा पानी हाल्न शुरु गर्दा एक इञ्जिनियर र सवारी चालकले ज्यान गुमाएका थिए ।

प्रधानमन्त्री ओलीले ‘तीन वर्षदेखि मैले एउटै कुरा सुन्दै आएको छु– एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्षअगाडि त्यही सुनेँ, ६ महिनाअगाडि त्यही सुनेँ, ३ महिनाअगाडि, १ महिनाअगाडि पनि त्यही सुनेँ । केही दिनअगाडि त्यही सुनेँ, अघिल्लो दिन पनि त्यही सुनेँ’ भन्नुभएको थियो । सबैभन्दा जटिल र चुनौतीपूर्ण मानिएको पाइप राख्ने विषयमा सर्वज्ञान भएका प्रधानमन्त्रीको टिप्पणी हल्लाफुल्का रहेको जलविद्युत् क्षेत्रमा काम गरेर कपाल फुलाएका एक विज्ञ इञ्जिनियरले बताउनुभयो, ‘प्रधानमन्त्रीलाई हरेक विषयमा आफू जानकार रहेको ठूलो भ्रम रहेछ, यसले हामीजस्ता विज्ञलाई लज्जित बनाएको छ ।’

८ सय मिटरमाथिबाट विद्युत् गृहमा पानी खसाउनुपर्ने छ, यस्तो संवेदनशील काम कसैको नाम राख्ने हिसाबले हचुवामा गरियो भने के होला ? दुर्घटना भए त्यसको जिम्मा कसले लिने ? यस्ता प्रश्न अनुत्तरित छन् ।

त्यसो त उद्घाटन र शिलान्यास प्रधानमन्त्री ओलीका लागि नयाँ हैन । यसबीच ठेक्कापट्टा नै नलागेको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना र अत्तोपत्तो नै नभएका सडकको पनि शिलान्यास गरिएको छ बालुवाटारबाटै ! ०७४ फागुन १८ गते शुक्रबार गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर, एनेक्स भवनको शिलान्यास र ०७७ कात्तिक १९ गते बुधबार त्यही मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन त नमूनामात्रै हो ।

टिप्पणीहरू