कालोबजारी गर्नेकै राष्ट्रपतिद्वारा कदर

कालोबजारी गर्नेकै राष्ट्रपतिद्वारा कदर

नयाँ वर्षको दिन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रवल जनसेवा श्री चतुर्थ थापेपछि भोलिपल्टको एउटा राष्ट्रिय दैनिकमा पूरा पृष्ठको बधाई छपाउने अरु कोहि नभएर उनै व्यापारी हुन्, जसका छोराले ठ्याक्कै एक वर्षअघि कोरोनाको कहरवीच थर्मल गन (शरीरको तापक्रम नाप्ने मेशिन) कालोबजारीमा कूटनीतिक सुविधाको गाडी भरपुर दुरुपयोग गरेका थिए ।

मुलुक र जनताको विकास तथा सुविधामा विशेष योगदान पु¥याउनेहरूलाई प्रदान गरिने मान, पदवी र अलंकार यसपटक शंकरलाल अग्रवाललाई पनि दिइएको छ । आफैँले छपाएको विज्ञापनमा नेपाली उद्योग तथा व्यवसाय क्षेत्रमा उत्कृष्ट योगदानको उच्च कदरस्वरुप राष्ट्रपतिले शंकर ग्रुपका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायीलाई उक्त पदकबाट विभुषित गर्नुभएको विवरण उल्लेख छ । शंकर उनै कालोबजारीमा थुनिएका सुलभ अग्रवालका बुबा हुन् । शंकर ग्रुपमा बुबा अध्यक्ष छन् भने छोरा उपाध्यक्ष हुन् ।


ग्रुपमा अहिले ३० भन्दा बढी कम्पनी रहेको बताइन्छ । तर, पदक प्राप्त भएको उपलक्ष्यमा प्रकाशित कृतज्ञता विज्ञापनमा १३ वटा कम्पनीको नाम मात्र उल्लेख छ । ग्रुपले जगदम्बा स्टिल्स र जगदम्बा सिमेण्ट कारखाना खोलेको छ । त्यस्तै जगदम्बा सिन्थेटिक तथा पाइप र जगदम्बा इन्टरप्राइजेज पनि सौरभ समूह र शंकर समूहको ज्वाइन्टभेञ्चर कम्पनी हो । इन्टरप्राइजेज मुख्यगरी टाटा स्टील्सको नेपालमा मुख्य वितरक हो ।

उक्त समूहले अम्बे ग्रुपसँग मिलेर पछिल्लो दिन रिद्धिसिद्धि सिमेण्टसमेत उत्पादन गर्न थालेको छ । यहि बीच काठमाडौंको नक्साल भगवती मन्दिर छेउ हिल्टन होटलको चेनको रुपमा डबल ट्रि पनि उनै अग्रवालले बनाइरहेका छन् । मादी र बलेफी जलविद्युत परियोजनासमेत त्यहि समूहले अघि बढाएको छ । वीरगञ्जमा टीभीएस मोटरसाइकल एसेम्बल प्लाण्टको तयारी गरेको शंकर ग्रुपले रियल इस्टेटमा पनि लगानी गरेको छ । पछिल्लो दिन उक्त ग्रुप बियर तथा अल्कोहल फ्याक्ट्रीको तयारीमा समेत जुटेको छ ।

सुलभ किर्गिस्तानका वाणिज्य दूत हुन् । उनले २०९ एचसीसी १ नम्बर प्लेटको गाडीमा गतवर्ष थर्मल गनको कालोबजारी गरिरहेको बखत प्रहरीले पक्रेको थियो । कोरोना महामारीमा चीनबाट ल्याइएको ६७ थान थर्मल गन महँगोमा बेच्न लैजाँदा फन्दामा परेका हुन् । पाँच हजार बजार मूल्य रहेको थर्मल गन सुलभले १५ हजारमा बिक्री गरिरहेका थिए । प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको कालोबजारीसम्बन्धी उक्त मुद्दा अहिलेसम्म टुंगो लागेको छैन । ब्यक्तिको विगत, वर्तमान र सही सत्य योगदान बिचार नगर्दा होलसेलमा कसरी राज्यद्वारा दिइने सुविधाको उल्टो खपत हुने गर्दछ भन्ने कुराको यो यौटा राम्रो नमुना हो ।

टिप्पणीहरू