छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु

सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २९०१९००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुधौली नगरपालिका-४ डकाहा घर भएका २७ वर्षीय यमकुमर दनुवार र सोही ठाउँ बस्ने १४ वर्षीय आशिष कुमर दनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही ठाउँ बस्ने १० वर्षीय आदित कुमर दनुवारको ओमकृष्ण पोलिक्लिनिक भिमान हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

डोटीको सायल गाउँपालिका-६ र दिपायल शिलगढी नगरपालिका-२ को सिमानास्थित रौखोला भन्ने ठाउँमा बिएस कन्ट्रक्सनको जेसिबीले रोड फिलिङ गर्ने क्रममा रोडबाट ढुंगा खस्न गई ढुंगाले लागेर पैदलयात्री सायल गाउँपालिका-६ रौखोला बस्ने ४५ वर्षीय नरी साउदको शुक्रबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, मुस्ताङको थासाङ गाउँपालिका-४ बादरजुङगे भिरस्थित बेनी जोमसोम सडकमा ग.१८ प १५७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ३८ वर्षीय शिवहरि पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको लेते स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता, जिप दुर्घटनामा परि नवलपरासी (पूर्व), बुलिङटार गाउँपालिकामा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार लु. १ ज ३७१० नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार पाल्पा रामपुर नगरपालिका-४ का २३ वर्षीय अजय बिकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा उपचार भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ईलाममा पनि मोटरसाइकल दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । सुर्योदय नगरपालिका-५ गोराखस्थित भित्री सडकमा मे. ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केराबारीमा को.१ ख ६५४७ नम्बरको टिपरले स. ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्का एकजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-९ डाँगिहाटका २६ वर्षीय सुरेशकुमार चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका ३४ वर्षीय रुपेश अधिकारीलाई सुकुना सामुदायिक अस्पताल बिराट चोक हुँदै थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

मकवानपुरमा भएको अटो एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मनहरी गाउँपालिका-९ खरङ्गामा भएको थियो ।

ना ५ ख ४७४० नम्बरको ट्रकले ना. १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका-९ रजैया बस्ने ३१ वर्षीय कुमार रानामगरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनालाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको प्रहरीले बताएको छ । ट्रक चालक फरार रहेको र उनको खोजी भैरहेको बताइएको छ ।

त्यसैगरी, बाराको निजगढ नगरपालिका-११ कासघाटमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यता, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । बेतकोट नगरपालिका-३ दैजीमा म. २ प ५१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेतकोट नगरपालिका-२ का ४० वर्षीय जुगलाल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय लक्ष्मण चौधरीको सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिका-५ स्थित ढुङ्गाबेशीमा लु. ४ त ६९८१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक १९ वर्षीय टेक बहादुर जर्गामगरको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवामा बा ३ ख ९२८५ नम्बरको बस सडकबाट अन्दाजी १५ मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा बसका सह-चालक अन्दाजी २५ वर्षीय अनिल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनालाई उपचारको लागि उदयपुर कटारीतर्फ पठाइएको प्रहरीले बताएको छ ।दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले उद्दार गरेको थियो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू