रिटर्नीहरुका लागि स्वदेशमा अवसरसँगै चुनौती

रिटर्नीहरुका लागि स्वदेशमा अवसरसँगै चुनौती

वैदेशिक रोजगारलाई आम्दानीको स्रोत मानेर विदेश पुगेका धेरै नेपालीहरु वैदेशिक रोजगारलाई बिट मारेर स्वदेश फर्किएपछि विभिन्न पेशा अङ्गाल्ने गरेका छन् । आफ्नै माटोमा पसिना बगाउने अठोट गरेर स्वदेश फर्किएकाहरु कृषि, पर्यटन, होटल, व्यापार, यातायातलगायतका क्षेत्रमा बढी आकर्षित हुने गरेका छन् ।

विदेश बसेर कमाएको पैसा र सिकेको सीपलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्नका लागि उनीहरुले यस्तो पेशा रोज्ने गरेका रिटर्नी माइग्रेन्ट नेपालका उपाध्यक्ष ऋषिराम बस्याल बताउँछन् । स्वदेश फर्किएर व्यवसाय शुरू गरेका व्यक्ति र उनीहरुको व्यावसायिक छनोटले पनि त्यस्तो देखाउँछ ।

‘अर्काको देशमा अरुको खटनमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा केही गर्नु राम्रो हो । तर, नेपालमा काम गर्न सहज भने छैन । जताततै सिन्डिकेट छ । सबैतिर बिचौलियाले घेरेका छन्, जबसम्म राज्यले बिचौलियाहरुलाई ठेगाना लगाउने गरि नीति बनाउँदैन तबसम्म सहज तरिकाले व्यवसाय सञ्चालन गर्न कठिन छ ।’

वैदेशिक रोजगारको नौ वर्षे लामो बसाई छोडेर नेपाल फर्किएका चुलाचुली ५, इलामका नरेश श्रेष्ठ ड्राईभिङ सिकेर गाडी चलाउन थालेका छन् । यूएईमा सुरक्षा गार्डमा काम गरेका उनी अहिले आफ्नै व्यवसायमा जमेका छन् । उनी भन्छन्, ‘विदेशमा पैसा त कमाईन्थ्यो तर खुशी मिल्दैनथ्यो । अहिले पैसा कम कमाईन्छ तर परिवारसंग बस्न पाउँदा सन्तुष्टि मिलेको छ ।’ वैदेशिक रोजगारीलाई रहर नभई बाध्यताका रुपमा बुझेका श्रेष्ठले धेरै कमाउने महत्वाकांक्षा राखेर विदेश जानुभन्दा स्वदेशमै केही गर्नुपर्ने निष्कर्षमा पुगेर व्यवसाय थालेको सुनाए ।

श्रेष्ठजस्तै मलेसिया र यूएईको १४ वर्षे लामो रोजगारीलाई अन्त्य गर्दै नेपाल फर्किएका झापाका लछुमन काफ्ले पनि आफ्नै व्यवसायमा लागेका छन् । काभ्रेको बनेपामा कृषि फर्म शुरु गरेका उनी राज्यको नीतिगत कमजोरीका कारणआफ्नै देशमा काम गर्न चाहानेहरुलाई अप्ठेरो पारेको गुनासो गर्छन् । उनी भन्छन्, ‘अर्काको देशमा अरुको खटनमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा केही गर्नु राम्रो हो । तर, नेपालमा काम गर्न सहज भने छैन । जताततै सिन्डिकेट छ । सबैतिर बिचौलियाले घेरेका छन्, जबसम्म राज्यले बिचौलियाहरुलाई ठेगाना लगाउने गरि नीति बनाउँदैन तबसम्म सहज तरिकाले व्यवसाय सञ्चालन गर्न कठिन छ ।’

स्वदेशमा भनेजस्तो काम नपाएपछि २०७२ को विनासकारी भूकम्पपछि यूएई हानिएका सुनकोशी गाउँपालिका–१० ओखलढुङ्खाका छबि गिरी केही महिना पहिला स्वदेश फर्किएर बाख्रा, कुखुरा पालन व्यवसायमा लागेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिकाको डोलेश्वर मन्दिर नजिकै बाख्रा, कुखुरा फर्म शुरु गरेका गिरी आफ्नै देशमा काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँछन् ।

आफ्नो मालिक आफैँ हुन पाएकोमा आत्मसन्तुष्टिसँगै खुशी मिलेको भन्दै उनले सुनाए, ‘विदेशको जस्तो धेरै खट्न नपर्ने, अरुको गाली र तुच्छ बोली सुन्नु नपर्ने, स्वतन्त्ररुपमा आफ्नै खुशीले आफ्नै देशमा परिवारको साथमा व्यवसाय सञ्चालन गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’ अब फेरी वैदेशिक रोजगारमा नजाने निधो गरेका उनले व्यवसायसँगै समाजसेवामा पनि लाग्ने मनस्थिति बनाएका छन् । ‘बरु आटोपिठो खान्छु, परि आए यहीँ दश घण्टा पसिना चुहाउँछु तर विदेश जान्न’, दृढताका साथ उनले भने, ‘आफ्नै देशमा बसेर व्यवसायसंगै समाजसेवा पनि गर्ने सोच बनाएको छु ।’

अरुकोभन्दा अलि फरक व्यवसायमा हात हालेका तेह्रथुम फेदाप गाँउपालिका–१ का दीर्घराज भट्टराई यूएईको जागिर छोडेर नेपाल फर्किएको एक वर्ष भयो । उनले चाईना ट्रेड लिङक कन्सर्न कम्पनीमा शेयर पार्टनरका रुपमा व्यवसाय शुरु गरेका छन् । विदेशको जागिर र अहिलेको व्यवसायको अनुभव सुनाउँदै उनी भन्छन्, ‘विदेशमा पैसा कमाए पनि सन्तुष्टि मिल्दैन । बिरानो देशमा अर्काको हेपाई र भनाई खाएर अपहेलित हुनुभन्दा थोरै कमाइ भए पनि अहिले गरेको काममै आत्मसन्तुष्टि मिलेको छ ।’ उनले पनि दृढताका साथ विदेशमा गर्ने मेहनत नेपालमा गर्ने तर विदेश जाने कुराको कल्पना पनि नगर्ने बताए ।

‘दलाल बिचौलियाको घुमाउरो जालझेलमा परेका किसानहरु जबसम्म दलालको चङ्गुलबाट बाहिर निस्कने हिम्मत गर्दैनन् तबसम्म किसानको मेहनत बालुवामा पानी हुने निश्चित छ ।’

देवचुली नगरपालिका–१७ नवलपुरका चिरन न्यौपाने १० वर्षे विदेश बसाईलाई छोडेर दुई वर्ष पहिला नेपाल फर्किएका थिए । नेपालका विभिन्न जिल्लाको जडिबुटी तथा रैथाने उत्पादनलाई संकलन तथा प्रशोधन गरि आफ्नै ब्राण्ड बनाएर बिक्री वितरण गर्न शुरु गरेका उनी ‘चिरन फुड एण्ड प्याकेजिङ’ व्यवसायमा जमेका छन् । विदेशमा समेत आफ्नो उत्पादन निर्यात गर्न शुरु गरेका न्यौपाने भन्छन्, ‘स्वदेशको कुनाकुनामा आम्दानीको स्रोत छ, त्यसलाई सदुपयोग गर्न सके स्वदेशमै धेरै मानिसले रोजगार पाउनेमा शंका छैन । तर, त्यसका लागि राज्य र सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’

विदेशमा गर्ने जति मेहनत आफ्नै देशमा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल फर्किएका धेरैले कृषि पेशा अँगाले पनि कृषि क्षेत्रमा चुनौती रहेकोले सोचे जस्तो आम्दानी गर्न भने नसकिने मोरङका किसान बलराम थापा बताउछन् । नेपाल प्रहरीको जागिरबाट अवकाश पाएपछि कुखुरापालन व्यवसायमा लागेका थापा भन्छन्, ‘दलाल बिचौलियाको घुमाउरो जालझेलमा परेका किसानहरु जबसम्म दलालको चङ्गुलबाट बाहिर निस्कने हिम्मत गर्दैनन् तबसम्म किसानको मेहनत बालुवामा पानी हुने निश्चित छ ।’ किसान–किसानबीच एकरुपता नहुँदा त्यसको फाईदा बिचौलियाले लिइरहेको बताउँदै उनले किसानहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय राज्यले स्वरोजगार हुन चाहनेहरुका लागि सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । आर्थिक अभावका कारण हातमा शीप र शरिरमा बल भएर पनि व्यवसाय शुरु गर्न नसकेकाहरुका लागि राज्यले ल्याएको योजनाले केहि हदसम्म सहयोग पुगेको पनि देखिन्छ । तर, झण्झटिलो प्रशासनिक प्रक्रिया अन्त्य गरि सहज र सरलीकरण हुन आवश्यक रहेको जानकारहरु बताउँछन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरूका लागि सहुलियत कर्जा सरल रूपमा लिएर व्यवसाय सञ्चालन गर्न रिटर्नी माइग्रेन्ट नेपालले विभिन्न बैंकसँग समन्वय गरिरहेको संस्थाका अध्यक्ष उत्तम अधिकारी बताउँछन् । अधिकारीले व्यवसाय गर्न चहानेहरूका लागि उद्यमशील तालिम दिएर व्यक्तित्व विकासमा जोड दिइरहेको पनि बताए ।

टिप्पणीहरू