चिनियाँ पत्रकारले लेखे नेपालसम्बन्धी पुस्तक

चिनियाँ पत्रकारले लेखे नेपालसम्बन्धी पुस्तक

विश्व पुस्तक दिवसको अवसरमा चिनियाँ पत्रकार चौ सेङपिङले नेपालबारे लेखेको ‘मेण्ड अर इण्ड’ पुस्तक सार्वजनिक भएको छ ।
अंग्रेजी भाषामा लेखिएको दुई सय पृष्ठको उक्त पुस्तकमा पाँच अध्याय उल्लेख छ । नेपाली राजनीति,संस्कृति,पर्यटन, अर्थव्यवस्था र चीन–नेपाल सम्बन्धवारे छुट्टाछुट्टै अध्यायमा प्रकाश पारिएको छ ।

चिनियाँ समाचार संस्था सिन्हवाबाट आठ बर्षदेखि नेपाल ब्यूरो प्रमुख रहेका चौले पुस्तकमा नेपालबारे आफ्ना व्यक्तिगत अनुभव र भावनाहरू समेत प्रस्तुत गरेका छन् । नेपाल बस्दा पछिल्लो एक दशकमा यहाँका राजनीतिज्ञ र विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको भेटघाट,छलफल र अनुभवलाई उनले शब्दमा पस्केका हुन् ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको औंल्याउँदै चौले डेढ वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिंगले गर्नुभएको ऐतिहासिक राजकीय भ्रमणले मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्धमा नयाँ अध्याय थपिएको टिप्पणी गरेका छन् ।

चौले पुुस्तकमा नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै नेपाली जनताको सामाजिक–आर्थिक विकास र समृद्धिको दीर्घकालीन सपना साकार पार्न राज्य असफल हुनुको केही कारण समेत औंल्याएका छन् ।

उनले नेपाली जनतालाई नेताहरूले चुनावको मुखमा ठूला सपना बाँडे पनि ती प्रतिबद्धता अर्को चुनावसम्म थाती रहने गरेको मार्मिक तथ्यलाई उजागर गरिदिएका छन् । उनले उदाहरण दिँदै भनेका छन् -प्रायः नेताहरूले नेपाललाई एसियाको स्वीटजरल्याण्ड बनाउने उद्घोष गर्छन् तर कार्यान्वयनतर्फ सिन्को भाँचिएको देखिँदैन । त्यो भनाई नेपाली सर्वसाधारणको अनुभवबाट सापट लिइएको भनिएको छ ।

पुस्तकमा नेपाल र चीनबीचको असल सम्बन्धको बारेमा पनि चर्चा गरिएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको औंल्याउँदै चौले डेढ वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिंगले गर्नुभएको ऐतिहासिक राजकीय भ्रमणले मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्धमा नयाँ अध्याय थपिएको टिप्पणी गरेका छन् ।

उनले नेपाली नेताहरूलाई सपनाबाट ब्युँझिएर मुलुकको सामाजिक तथा आर्थिक विकासमा ध्यान केन्द्रित गर्नसमेत सुझाव दिएका छन् । लेखकले चिनियाँ अध्यक्ष स्वर्गीय माओत्सेतुंगको भनाई उद्धृत गर्दै लेखेका छन् ‘१० हजार वर्ष धेरै लामो अवधि हो त्यसैले त्यसलाई दिन र घण्टामा रुपान्तरण गरेर कार्यान्वयनमा लैजानुहोस् ।’

चौले नेपालले दुई विशाल छिमेकी मुलुक चीन र भारतको आर्थिक विकासबाट लाभ उठाउन र आफूलाई गतिशील पुलको रुपमा रूपान्तरण गर्नसक्ने ठूलो सम्भावना रहेकोतर्फ पनि औंल्याएका छन् । विगतका वर्षहरूमा रेमिट्यान्स नेपाली अर्थव्यवस्थाको प्रमुख मेरुदण्ड भएको उल्लेख गर्दै लेखकले भनेका छन् ‘रेमिट्यान्स प्रवाहमा अचानक अवरोध आएमा मुलुकले गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ ।’

पुस्तकमा नेपाली राजनीति, भूराजनीतिक अवस्था र अर्थव्यवस्थासँगै लेखकले मुस्ताङलगायत नेपालका केही रमणीय ठाउँहरूको बारेमा पनि व्यक्तिगत अनुभव उल्लेख गरेका छन् । रंगीन फोटोद्वारा सजाइएको उक्त पुस्तक लेखकले अंग्रेजी भाषामा लेखेको पहिलो हो ।

पुस्तकको मूल्य ६ सय रुपैयाँ तोकिएको छ । पुस्तक मूलतः चौद्वारा लेखिएका लेख, विश्लेषण,अन्तर्वार्ता र समाचार वस्तुहरूको विशेष संकलन हो । ती सबै पछिल्लो समयमा उनले सिन्ह्वा,एशिया प्रशान्त डेली नेपाल संस्करण र केही नेपाली मिडियामा पस्किएका थिए ।

टिप्पणीहरू