बादलले दौरा– सुरुवाल लगाउन बिर्संदा…

बादलले दौरा– सुरुवाल लगाउन बिर्संदा…

ठीक १ बजे शुरु भयो केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) महाधिवेशन आयोजक समितिको बैठक । महासचिव ईश्वर पोखरेललाई बैठक सञ्चालन गर्न दिइएन ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सीधै सम्बोधन गरे, ‘भारतको नाकाबन्दीसँग लडेँ, चीनसँग सम्बन्ध बढाएँ । मेरो लोकप्रियता बढ्यो । यसकारण मलाई माधव नेपाल र प्रचण्डहरूले बदनाम गर्न खोजे ।’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले यसो भनिरहँदा सबैको ध्यान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तिर थियो ।

ईश्वर पोखरेलले अर्थमन्त्री विष्णु पौडेलसँग कानेखुशी गरे– बादलको दौरासुरुवाल आजै खुस्किएछ । उनीहरूका छेवैमा थिए टेकबहादुर बलम्पाकी । उनले भनेछन्– ढिलो हुन्छ भनेर बादलले दौरा सुरुवाल नलगाउनुभएको हो ।

बलम्पाकी बादलका १३ दिने भाइ हुन् । थापा मगरहरूको उपथर हो बलम्पाकी । बादलले आइतबार पुनः गृहमन्त्रीको शपथ लिए । दौरा– सुरुवाल लगाए । त्यही पनि ठ्याक्कै केपी शर्मा ओलीको जस्तै । एमाले वृत्तमा हलचल आयो । ओलीको उत्तराधिकारीका विषयमा ।

अहिलेको राजनीतिमा तीव्रता छ, बैठक छोटो बस्छौँ, ओलीले पहिलोचोटि बैठकलाई सिधै आफैँ सम्बोधन गरे । महासचिव हेरिरहे, ट्वाल्ल परे । फेरि बादलको दौरा सुरुवालतिर कानेखुशी शुरु भयो । ईश्वर, सुवास नेम्वाङ, विष्णु पौडेललगायत सबै दौरा सुरुवालमा थिए, बादलचाहिँ सुटमा ।

टिप्पणीहरू