क–कसलाई बालुवाटारको ढोका बन्द ?

क–कसलाई बालुवाटारको ढोका बन्द ?

प्रधानमन्त्रीसँग आफ्नै पार्टीका नेता, मन्त्रीमात्रै हैन, पत्रकार पनि हैरान भएर बालुवाटारबाट फर्किरहेका छन् । विरोधीशून्य पार्टी बनाउने अभियानमा लाग्नुभएका प्रधानमन्त्रीमा कसैको पनि असहमति, आलोचना र गुनासो सुन्ने रुची छैन । पार्टीभित्र मात्रै हैन, पत्रकारका हकमा पनि उहाँले त्यही अभ्यास गरिरहेको बालुवाटारबाट फर्किएका सञ्चारकर्मीहरू बताउने गर्छन् ।

गतहप्ता एमाले निकट वरिष्ठ पत्रकार तीर्थ कोइरालाले माउन्टेन टेलिभिजनका निम्ति अतिथि प्रस्तोताका रुपमा प्रधानमन्त्रीको अन्तर्वार्ता लिनुभयो । उहाँले त्यसक्रममा पसिना–पसिना भएर बालुवाटारबाट फिर्ता हुनुपरेको छ । यस्तै दुःख पाए, एपिवानका टीकाराम यात्री, भुषण दाहाल र हिमालय टेलिभजनका राजेन्द्र बानियाँहरूले ।

पहिला–पहिला राजा–महाराजाले छापामाध्यमलाई आमनेसामने परेर अन्तर्वार्ता दिँदैनथे । टेलिभिजनहरूले लिएको अन्तर्वार्ता पनि दरबारका हाकिमलाई अगाडि राखेर सम्पादन गर्नुपथ्र्यो । अहिले बालुवाटार छिरेर प्रधानमन्त्रीको अन्तर्वार्ता लिने पत्रकारहरू त्यस्तै अनुभव गर्दैछन् । पूर्वराजा (युवराज) स्व.दीपेन्द्रसँगै बूढानीलकण्ठ स्कुल पढेका भुषण दाहालले जीवनमा दरबारियाको धेरै संगत गरे, तर उनले एपिवान टेलिभिजनमा चलाउने ब्राभो डेल्टा शो कार्यक्रमका लागि प्रधानमन्त्रीको अन्तर्वार्ता लिँदा दरबारियाबाट पनि नभोगेको सास्ती भोगेर फर्किनुपरेको अनुभव साथीभाइमाझ सुनाउने गर्दछन् ।

भुषणको भन्दा पहिला ताजा घटनाको चर्चा गरौँ, वैशाख १ गतेको । माउन्टेन कार्यक्रम अतुल्यका लागि वरिष्ठ पत्रकार तीर्थ कोइराला आफ्नो प्राविधिक टोलीसहित बालुवाटार पुग्नुभयो । उहाँसँग अन्तर्वार्ताका लागि केही मोटामोटी विषयको टिपोट थियो । अन्तर्वार्ता दिनुअघि नै प्रधानमन्त्रीले सोध्नुभयो, ‘मलाई के–के सोध्ने हो ?’ तीर्थले टिपोट देखाउनुभयो । त्यसमा थियो, शुरुमा स्वास्थ्य र व्यक्तिगत कुरा । दोस्रोमा पार्टीको आन्तरिक गतिविधिबारे । तेस्रोमा प्रतिपक्षीसँगको सम्बन्ध । अन्तिममा सरकारका काम र योजनाबारे । यी कुरा हेर्नासाथ ‘कहाँ अन्तर्वार्ता यस्तो हुन्छ ?’ भन्दै प्रधानमन्त्रीले तीर्थको चिर्कटो फुत्त फ्याँकिदिनुभयो ।

अनि, भन्नुभयो, ‘त्यस्तै प्रश्न हो भने नगरौँ’ तीर्थले पूर्वपत्रकार तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापातिर मुख फर्काउनुभयो । उनलेचाहिँ सही थाप्लान् भन्ने लागेको थियो, तर उनैले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ?’ प्रधानमन्त्री त प्रधानमन्त्री नै भइहाल्नुभयो, आफ्ना चेलाचेलीभन्दा पनि पछिका पत्रकार सूर्यले बालुवाटारमै तीर्थलाई पत्रकारिता सिकाउने भएपछि उहाँसँग कि अन्तर्वार्ता नलिई फर्किनुपर्ने कि ‘जी–हजुरी’ गरेर भए पनि अन्तर्वार्ता लिनुपर्ने विकल्प खडा भयो । नयाँ काम थालेको, शुरुमै प्रधानमन्त्रीको अन्तर्वार्ता लिन्छु भनेर साथीहरूलाई भनिसकेको, तर बिनाअन्तर्वार्ता त्यहाँबाट फर्किनुपरेपछिको बेइज्जती सम्झँदै तीर्थले सम्झौता नै गरेर भए पनि अन्तार्वर्ताचाहिँ लिनुपर्छ भन्ने टुंगो गर्नुभयो । र, भन्नुभयो, ‘त्यसोभए म मिलाएर गर्छु नि त †’ यी दृश्यका साक्षी हुन्, पर्यटन मन्त्री भानुभक्त ढकाल ।

तीर्थको प्रश्न थियो, ‘कार्यकाल सकिएपछि हामी तपाईंलाई कहाँ देख्न पाउँछौँ ?’ प्रधानमन्त्रीले प्रतिप्रश्न गर्नुभयो, ‘हाम्रो पाला भनेर कहिलेको कुरा गर्दै हुनुहुन्छ ? अहिलेको कि पछिको…†’ अर्थात्, फेरि पनि चुनाव जितेर प्रधानमन्त्री बन्छु भन्ने आत्मविश्वास उहाँमा रहेछ । प्रधानमन्त्रीले भन्नुभयो, ‘केही पनि भएन भन्ने कुरा केही नेता, मिशनमा चलेका पत्रकार, दल प्रभावित नागरिक समाजका आउरेबाउरेले भन्ने कुरा हो । मेरो पालामा धेरै काम भएका छन् । चुच्चे नक्सा, चीनसँग पारवहन सन्धि– यी सबै मेरो पालामा भएका काम हैनन् ?’ प्रश्न थियो, ‘रेल त छोपेर राखेको छ नि’ प्रमले भन्नुभयो, ‘सानोतिनो टेक्निकल कारणले हो ।

अब छिट्टै सञ्चालनमा आउँछ ।’ उहाँले सो अन्तर्वार्ताका क्रममा माधव नेपालहरूलाई पूरै छोड्ने, तलबाट कार्यकर्ता तान्ने मुड प्रस्तुत गर्नुभएको थियो । तर, भारतसँग चुच्चे नक्साको कारण समस्या नआएको बताउनुभयो । ‘भारतले हैन, हाम्राले कुरा बिगारेका हुन्’, उहाँले भारतसँगको सम्बन्धबारे बताउनुभयो । अमेरिकी सहायता परियोजना एमसिसी संशोधनसहित पारित गर्नलाई पार्टीमा एउटा समिति बनेकोबारे कुरा निस्किएपछि भन्नुभयो, ‘पार्टीको काम पार्टीले गर्छ, सरकारको काम सरकारले गर्छ ।’

केही महिनाअघि अर्का वरिष्ठ कार्यक्रम प्रस्तोता भुषण दाहालले प्रधानमन्त्रीको अन्तर्वार्ता लिँदालिँदै दुई–तीनपटक रोकिनुप¥यो । उहाँ प्रश्न गर्नुहुन्थ्यो, प्रधानमन्त्रीचाहिँ क्यामेराले मुख छोप्दै ‘यो भएन, बन्द गर्नुस्’ भनेर हप्काउन थाल्नुहुन्थ्यो । त्यसपछि फेरि भुषणले प्राविधिकहरूलाई त्यो दृश्य इरेज गर्न र नयाँ फुटेज खिच्न अह्राउनुहुन्थ्यो । यस्तो घटना एउटै अन्तर्वार्ताका क्रममा तीनचोटि भयो । त्यहाँबाट फर्किएका भुषणले सहकर्मीहरूसँग आफ्नो अनुभव शेयरिङ गर्नुभयो, ‘कस्तो प्रधानमन्त्रीको फेला परिएछ यार, लाइभ भए त बर्बादै पार्ने रहेछन् †’

पत्रकार राजेन्द्र बानियाँले पनि हिमालय टेलिभिजनका लागि अन्तर्वार्ता लिए । धेरैचोटि रोकिँदै लिइएको सो अन्तर्वार्ता सकिएपछि सूर्य थापाले मुख बिगारेर भने, ‘अबदेखि (अन्तर्वार्ताको) आशै नगर्नुस् । सकियो, अब तपाईंको रहर यत्तिमै सकियो’ सूर्यले यसो भन्नुको कारण थियो, प्रश्नहरूमा प्रधानमन्त्रीलाई बढी नै पेलपाल गरिनु । जबकि, अन्तर्वार्ताका क्रममा प्रश्नहरू जति पेचिला भए, अन्तर्वार्ता दिनेले आफ्नो सफाई वा दलिल त्यति नै पेश गर्ने मौका पाउँछ । तर, हाम्रा प्रधानमन्त्रीसँग त्यस्ता पेचिला कुरा सुन्ने धैर्यता कहाँ छ र ?

एपिवानकै पत्रकार टीकाराम यात्रीलाई अन्तर्वार्ता लिइसकेपछि बालुवाटारका भित्रियाले भने, ‘अबदेखि तपाईंको ढोका बन्द भयो ।’ उनले पनि पेलेरै प्रश्न गर्नाले यस्तो खप्की खाएका छन् ।

टिप्पणीहरू