प्रेस इन्स्टिच्युटको तालिम सकियो

प्रेस इन्स्टिच्युटको तालिम सकियो

प्रेस काउन्सिलको सहयोगमा प्रेस इन्स्टिच्युट नेपालले गत फागुन १७ गतेबाट आयोजना गरेको दुईमहिने पत्रकारिता तालिम सकिएको छ । गुगलमिट एप्लिकेशनमार्फत् सञ्चालन भएको अनलाइन भर्चुअल तालिम आज सकिएको हो ।

कर्णाली प्रदेशलाई लक्षित गरेर आयोजना गरिएको तालिममा विभिन्न जिल्लाका चार दर्जन भन्दाबढी पत्रकार सहभागी थिए । प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेद्वारा प्रशिक्षण शुरु गरिएको तालिममा प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झविन्द्र भुसाल, प्रवक्ता दीपक खनाल, सूचना अधिकारी रामशरण बोहोरा, वरिष्ठ पत्रकार तीर्थ कोईरालालगायतले प्रशिक्षण दिएका थिए ।

दुई महिनासम्म सञ्चालन भएको आधारभूत पत्रकारिता तालिममा समाचार लेखन, फिचर लेखन, अन्तरवार्ता, खोज पत्रकारितालगायतका विषयमा प्रशिक्षण दिइनुका साथै पत्रकार आचारसंहिताका बारेमा समेत जानकारी दिइएको थियो ।

तालिम समापन गर्दै प्रेस ईन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले आगामी दिनमा पनि यस्ता तालिमहरु आयोजना गर्दै जाने बताए । उनले तालिमका सहभागीहरुलाई सफलताको शुभकामना दिएका छन् ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले तालिममा सहभागीहरुलाई प्रगतिको कामना गर्दै दुई महिने भर्चुअल तालिमको समापन गरेका थिए ।

टिप्पणीहरू