स्कूलका विद्यार्थीलाई सोध्न मिल्थ्यो यस्तो सवाल ?

स्कूलका विद्यार्थीलाई सोध्न मिल्थ्यो यस्तो सवाल ?

एसईईको पूर्व तयारी (सेन्टअप) परीक्षाअन्तर्गत आज सम्पन्न सामाजिक शिक्षा विषयको परीक्षामा सोधिएको एउटा प्रश्नलाई लिएर प्रश्न उठेको छ । जवाफ लेख्न नसकिने गरी त्रुटिपूर्ण प्रश्न सोधिएको भन्दै प्रश्नपत्र बनाउने शिक्षकको क्षमतामाथि नै प्रश्न उठेको हो ।

लामो उत्तर लेख्नुपर्ने १८ नं को प्रश्न नै गलत भएको विद्यार्थीको भनाइ छ । प्रश्नमा ‘२०७४ सालको संघीय चुनावमा वामपन्थी गठबन्धनले लगभग दुई तिहाई सीटहरु जितेर सरकार निर्माण गर्यो । तर गठवन्धनले पाँच वर्षसम्म सरकार संचालन गर्न असफल भयो । किन ? यस घटनाले राजनीतिक दलसम्बन्धी जनतामा कस्तो असर निर्माण गर्यो ? चार बुँदामा लेख्नुहोस् ।’ भनिएको छ ।

सरकार संचालनको पाँच वर्षे अवधि अझै नसकिएको र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा वाम गठवन्धनले पाँच वर्ष सरकार चलाउन असफल भयो भन्ने प्रश्न नै गलत हुने विद्यार्थीहरुको भनाइ छ । सरकारको सफलता र असफलता छुट्याउने कुनै मूर्त मापदण्ड नबनेको अवस्थामा के जवाफ लेख्ने भन्ने अन्यौलता भएको एक परीक्षार्थीले बताए ।

एसईई तयारीका लागि लिइने परीक्षालाई त्यही संवेदनशीलताका साथ लिनुपर्ने सरोकारवालाहरुको माग छ । यस्ता प्रश्नले परीक्षार्थीलाई अलमल बनाउने भएकाले प्रश्न सोध्दा होसियारी अपनाउनुपर्ने एक शिक्षकले बताए ।

‘प्रश्न सोध्ने गुरु त यस्ता छन्, उनीहरुले उत्पादन गर्ने विद्यार्थी कस्ता होलान्’,प्रश्न गर्दै निजी विद्यालयका एक शिक्षकले भने, प्रश्न बनाउँदा यति सामान्य कुरालाई पनि ख्याल नगर्नू गम्भीर गल्ती हो । यौटा शिक्षकले गरेका यस्तै कमजोरीले गर्दा सबै शिक्षकको क्षमतामाथि प्रश्न उठ्ने हो ।’

टिप्पणीहरू