अड्केको कुरा,जेठ २ मा फर्किदा के खतरा ?

अड्केको कुरा,जेठ २ मा फर्किदा के खतरा ?

बुधबार र बिहीबार होटल मेरियटमा भएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता खासै सकारात्मक भएन । कारण के होला ? नेपालको तर्फबाट पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको अवस्थातिर फर्कौं भन्ने जोड थियो । तर प्रधानमन्त्री ओली त्यसको लागि तयार हुनुभएन । उहाँको तर्फबाट ठोस प्रस्ताव पनि केही आएन

बिहीबार बिहान बल्खुमा आयोजित एमाले कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले बोल्नुभएको आक्रामक भाषाले पनि माहौललाई थप खराब अवस्थातिर फर्काएको बताइन्छ । उहाँले भाषणमा आफूले नेपाललाई सम्झाई बुझाई गरिरहेको भन्दै हियाउने तरिकाले बोलेपछि संग्लिन खोजेको वातावरण बिग्रिएको अर्को पक्षको दाबी छ ।

“म आइन्दा अल्पमतमा पर्ने काम गर्दिन” भन्नु,बहुमतमा रहेका निर्वाचित पदाधिकारीहरुलाई हटाएर माओवादीबाट आएका ठूला पदधारी साराका सारालाई महाधिवेशन आयोजक समितिमा मनोनित गर्नु त्यसैको नतिजा हाे ।

हुन तः प्रधानमन्त्री आफ्नै खेमाभित्र समेत ठूलो प्रेसरमा रहनुभएको बुझिन्छ । एकथरि नेपाल पक्षलाई निमिट्यान्न पारेर अघि बढ्नुपर्ने भनिरहेका छन् । अर्कोथरि निषेधको राजनीति र कारबाही गरेर जाँदा कालान्तरमा आफूहरू पनि सिद्धिन्छौं भनिरहेका छन् । यसवीच शंकर पोख्रेललगायत त्यसो भन्नेहरूले नेपाल पक्षका थुप्रैलाई भेटेका छन् ।

नेपाल पक्षले जेठ २ गतेको अवस्थामा फर्कन आग्रह गरिरहँदा बालुवाटारका हार्ड लाइनरहरूले ‘फर्केर के गर्ने ?’ भनेका छन् । उनीहरूको भित्री कुरोचाँहि त्यसो हुँदा नेपाल पक्षले बहुमत पुर्याएर स्वयम् अध्यक्षलाई कारबाही गर्छन् भन्ने भय रहेको बताइन्छ ।

त्यसैगरी,पार्टीमा प्रक्रिया नपुर्याई रामबहादुर थापा बादलहरूलाई राख्न दिँदैनन् भन्ने निश्कर्षले प्रधानमन्त्री ओली पक्ष जेठ २ गतेको अवस्थामा फर्कन नचाहेको स्रोतको दाबी छ । “म आइन्दा अल्पमतमा पर्ने काम गर्दिन” भन्नु,बहुमतमा रहेका निर्वाचित पदाधिकारीहरुलाई हटाएर माओवादीबाट आएका ठूला पदधारी साराका सारालाई महाधिवेशन आयोजक समितिमा मनोनित गर्नु त्यसैको नतिजा हो भन्ने माधव नेपाल पक्षका एकजना स्थायी समिति सदस्य थप्छन् ‘जेठ २ गतेको अवस्थामा फर्कंदा अध्यक्ष ओली पक्षधरहरू अल्पमतमा पर्ने खतरा पनि छ ।

फागुन २८ गते गुटको मात्र बैठक गर्नुको अर्थ पार्टीभित्र उहाँ कति कमजोर हुनुहुन्थ्यो र हुनुुहुन्छ भनी छर्लङ् हुनु हो । त्यसैले हतार हतार बादलसहितको बैठक बोलाइएको हो ।’

बुधबार साँझको भेटमा प्रधानमन्त्रीले एकाएक नेपाललाई ‘तपाईं र हामी मिलेर पनि आवश्यक संख्या पुग्दैन भने अरु कसले साथ देला र ?’ भनेर सोध्नुभएको थियो । उहाँको त्यस्तो निराशापूर्ण अभिव्यक्ति सुनेपछि नेपालले पनि ‘माओवादीले साथ दिनसक्छ,कुरा गरौं’ भन्दा उहाँ चुपचाप बस्नुभएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारको समर्थनमा जसपाका सबैले मतदान गर्छन् भन्ने बिश्वास थियो । तर,यसबीच विकसित राजनीतिक घटनाक्रममा जसपाका आधाभन्दा कम सांसदले मात्रै सरकारको निरन्तरतालाई सघाउन सक्ने भएपछि उहाँ हच्किनुभएको बताइन्छ ।

टिप्पणीहरू