म्यारियटमा झुक्याएर फोटो,रातारात कुरा उल्टियो

म्यारियटमा झुक्याएर फोटो,रातारात कुरा उल्टियो

हिजो दिउँसो म्यारियट होटेल,९०१ नम्बर कोठाभित्र शिशाको बन्द झ्यालबाट प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले भोलि उदघाटन हुने नयाँ धरहरा नियाल्दै गरेको फोटो सार्वजनिक हुनासाथ धेरैले लख काटे-लौ उज्यालो सम्भावना देखियो ।

एमालेको विवाद मिल्ने छाँट आयो । तर,”मेरो बटम लाइन यही हो,फागुन २८ को निर्णय सच्चिन्न,फेरि भेटौँला”भन्दै प्रधानमन्त्री निस्कनुभएको आधी घण्टापछि बाहिरिनुभएका वरिष्ठ नेता माधवकुमार नेपालले जनकपुर पुगेर आज कार्यकर्ताहरुलाई गर्नुभएको ब्रिफिङ्ग सुन्ने हो भने कुरा मिल्न लागेको हैन झन बल्झन चाहिँ लागेको छ ।

वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै स्रोत भन्छ,‘प्रधानमन्त्री विषय वस्तुप्रति संवेदनशील हुनुहुन्न । उहाँ उट्पट्याङ कामबाहेक केही गर्नुहुन्न भन्ने कुरो हिजो पनि पुष्टि भयो । मलाई थाहै नदिई सरकारी कर्मचारीलाई बोलाएर पछाडिबाट झ्याल बाहिर नियाल्दै गरेको फोटो खिचाइयो । र, संवेदनशील विषयमा केन्द्रित नभई फोटोबाजी गरियो ।’

पहिलो दिनको वार्तामा नेपाल पुगेको केहि छिनपछि प्रधानमन्त्री पुग्नुभएको थियो । हिजो भने ओली अगावै पुगेर झ्यालबाट केही हेरेको जस्तो गरिरहनुभएको थियो । वार्ता कक्षमा प्रवेश गर्नेबित्तिक्कै प्रधानमन्त्रीले नेता नेपाललाई आफू भएको झ्यालतिर आउन आग्रह गरेपछि पछाडिबाट पहिले नै तयारी अवस्थामा राखिएका सरकारी फोटोग्राफरले फोटो खिचेको नेपालले पत्तै नपाएको बताइन्छ ।

अघिल्लो दिनको भेटमा शुरुमै धेरैबेर बोल्नुभएका प्रधानमन्त्रीले लामो भूमिका बाँधेपछि भन्नुभएको थियो ‘अब हामी मिले पनि सरकार कसरी बहुमतमा हुन्छ र ? अनि मिलेर जाने कुरामा कसरी सहमति र विश्वास कायम गर्न सकिन्छ ?’

प्रधानमन्त्री समस्या समाधान गर्ने मुडमा रहेको अनुमान गरेर माधव नेपालले समस्या सुल्झाउने आशयले लिखित सहमति गरौं,सरकार जोगाउन म प्रचण्डजीसङ्ग पनि कुरा गरौंला भन्नुभएको थियो । स्रोत भन्छ- नेपालको सुझाव सुनेपछि उहाँले ठीकै छ भन्ने हिसाबले बडी ल्याङ्ग्वेजबाट सकारात्मक रहेको अभिव्यक्ति दिनुभएको थियो ।

नेता नेपालले प्रधानमन्त्रीले बहुमतको प्रसंग उठाउँदा ‘म मिलाउँला,चिन्ता नलिनुस्,तपाईं प्रधानमन्त्रीमा बस्नुहोस्,तपाईंलाई हटाउने कुरा गरिएको छैन, मैले त्यस्तो भनेको पनि छैन,अध्यक्ष र प्रधानमन्त्री दुवै बन्नुहोस्’ भनेर ढुक्क बनाउनुभएको थियो ।

तर,हिजो बिहीबार बिहान उहाँले अघिल्लो दिनको सबै सम्भावनालाई बल्खुमा आयोजित पार्टी कार्यालय भवन शिलान्यास कार्यक्रममा मर्नेगरी गाली गरेर निमिट्यान्न पार्नुभएको नेपाल पक्षको गुनासो छ । हिजै दिउँसो पुनः सोही होटलमा भएको वार्तामा ओली २०७५ जेठ २ गतेको ठाउँमा फर्किन नसकिने बताउँदै टकटकिनुभएको थियो । उहाँको तर्क थियो ‘कुनै हालतमा २ गते फर्कन सकिँदैन,तपाईंहरू खुरुक्क आउनुस्,बैठकमा आउनलाई स्वागत छ । निलम्बन गरेको भएपनि,कारबाही गरेपनि बैठकमा आउनुस्,दयामाया गरेर कारबाहीमाथि केही विचार गरौंला ।’

प्रधानमन्त्रीले नेपाललाई व्यक्तिगत रुपमा ‘तपाईंको लामो इतिहासलाई ध्यानमा राखेर उदारताका साथ सोचिदिउँला’ भनेपछि नेता नेपालले पनि भीख मागेर कम्युनिष्ट आन्दोलनमा नलागेको र अब पनि मागिने छैन भनेर जवाफ फर्काउनुभएको बताइन्छ ।

नेपालको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘तपाईंको कुनै उदारता चाहिँदैन,दयामाया पनि चाहिँदैन । तपाईंले हामीलाई पार्टी र वामपन्थी आन्दोलनबाट हटाउने हैसियत छ र ? बुझ्नुस् हामी आफैँले यो आन्दोलन र पार्टी बनाएका हौं ।’

एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउनेमा मात्र होइन, एमाले र माओवादीको एकीकरणपछि बनेका जिल्ला कमिटीका अध्यक्षहरू समेत कायम रहनुपर्छ भन्ने नेपालको धारणामा समेत उहाँले विमति जनाउनुभएको थियो । प्रधानमन्त्रीको तर्क थियो ‘त्योभन्दा पछि अर्को मान्छे सक्रिय भएर आइसक्यो ।’

यसबीच बालुवाटारले मीस नेपाल शृङ्खला खतिवडाकी आमा अर्थात मकवानपुरका मुनु सिग्देललगायत धेरैजना निर्वाचित अध्यक्षलाई हटाएको छ । त्यहि उदाहरण दिएर नेपालले राखेको अडानमा प्रधानमन्त्री ओलीले ‘अब हुँदैन त्यो,त्यस्तालाई कहाँ मिलाउन पर्छ यसो कमिटीतिर सोचौंला’ भन्नुभएको थियो । नेपालको पार्टीका अरु कमिटीलाई पनि यथावत राख्नुपर्छ भन्ने अडानमा समेत प्रधानमन्त्रीले ठाडै इन्कार गर्नुभएको थियो ।

नेपालका अनुसार प्रधानमन्त्रीको रवैया बुधबारको तुलनामा बिहीबार थप ‘कठोर’ थियो । दुवै दिन उहाँले वार्तास्थलको रुपमा तय गरिएको कोठामा विषयमा भन्दा अन्यत्र ध्यान दिनुभएको थियो । कोठामा छिर्दासमेत महत्वपूर्ण कुरामा रुची नदेखाउँदै कहिले एउटा झ्यालबाट र कहिले अर्को झ्यालबाट हेर्ने गर्नुले पनि उहाँमा समस्या समाधानमा संवेदनशीलता नदेखिएको माधव पक्षको आरोप छ ।

बिहीबारको बैठक सकिएपछि नेता नेपाल पूर्व निर्धारित कार्यक्रमको लागि जनकपुर प्रस्थान गर्न सोझै विमानस्थलतर्फ लाग्नुभएको थियो ।

टिप्पणीहरू