अवतारीको खर्चमा बन्यो स्वयम्भूको गुम्बा

अवतारीको खर्चमा बन्यो स्वयम्भूको गुम्बा

महाभूकम्पले क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण सकिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी विश्व सम्पदा सूचिमा परेको उक्त गुम्बाको निर्माण कार्य सकिएको जानकारी दिइएको हो।

पुनर्निर्माण समितिको अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले गुम्बा र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए ।

यस कार्यको लागि कर्मराज महाविहार (गुम्बा) का १७औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार ब्यहोर्नुभएको थियो । स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्डअनुसार मौलिक शैलीमा निर्माण गरिएको हो ।

पुनर्निर्माण भएको गुम्बा र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताए ।

वि.सं. २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माणको काम करिब २ वर्षको अवधिमा सम्पन्न भएको हो ।

टिप्पणीहरू