एमसीसी ल्याउने,सि जिंगपिंगलाई जिल्याउने

एमसीसी ल्याउने,सि जिंगपिंगलाई जिल्याउने

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न नदिएको आरोप लगाइरहँदा डेढ वर्षअघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ्को झण्डै रोकिएको नेपाल भ्रमणको सन्दर्भ फेरि उठेको छ ।

कृष्णबहादुर महरा सभामुख छँदा अर्थमन्त्री युवराज खतिवडाले एमसीसीको सहयोग अनुमोदन प्रस्ताव संसदमा दर्ता गरेका थिए । तर सभामुखले टेबुल नगर्दा त्यो त्यत्तिकै अड्केको थियो ।

प्रधानमन्त्री ओलीले त्यतिबेला पनि सभामुखलाई बोलाएर प्रस्ताव तत्काल पारित गर्न दबाब दिनुभएको थियो । जुनबेला चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लगभग तय भइसकेको थियो ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदै गरेको सन्दर्भमा उक्त प्रस्ताव टेबुल गर्दा राम्रो सन्देश नजाने भएकाले भ्रमण पछि पारित गरौंला भन्नासाथ प्रधानमन्त्री ओली महरासँग फायर हुनुभएको बताइन्छ ।

स्रोतका अनुसार त्यतिबेला महराले उक्त सहयोग प्रस्तावको अनुमोदनमा चिनियाँ सरोकार जोडिएको बताउनुभएको थियो । चिनियाँ राष्ट्रपति नेपाल आउँदै गरेको सन्दर्भमा उक्त प्रस्ताव टेबुल गर्दा राम्रो सन्देश नजाने भएकाले भ्रमण पछि पारित गरौंला भन्नासाथ प्रधानमन्त्री ओली महरासँग फायर हुनुभएको बताइन्छ ।

उच्चस्रोतका अनुसार त्यसरी रातारात एमसीसी पारित गराउन खोज्नुको पछाडि चिनियाँ राष्ट्रपतिलाई भ्रमणको पूर्वसन्ध्यामा हतोत्साही गराउने बिदेशी योजनालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले मलजल गर्नु थियो । त्यसैको शिकार पछि प्रधानमन्त्री ओलीलाई समेत बनाइएको बताइन्छ । राष्ट्रपतिको भ्रमणअगाडि एमसीसी पास गरेमा चीनले भ्रमण रद्ध गर्छ भन्ने बिदेशी बुझाई र दाउलाई खतिवडाले गुलियो भाषामा बालुवाटारमा पस्केको जानकारहरुको दावी छ ।

तर अनेक योजनाका बाबजुद् चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएपछि यही सरकारले भोलिपल्टैदेखि उपलब्धिका रूपमा गुणगान गाउन थालेकोमा अहिलेसम्म पनि रोकिएकै छैन । तर एमसीसी पारित गराएर त्यतिबेला भ्रमण रद्द गराउने योजनाबारे धेरै बेखबर थिए भनिन्छ ।

संसद सचिवालयको उच्च स्रोत भन्छ ‘एमसीसी अघि नबढाएको कारण भ्रमण भयो र मुलुकको लागि ठूलो उपलब्धि हुन गयो ।’
त्यसअघि सभामुख महराले कजाकस्तानबाट स्वदेश फर्कंदा बेइजिंगबाट छेन्दु हुँदै काठमाडौंको रुट प्रयोग गर्नुभएको थियो । उहाँले चीनको बाटो प्रयोग गरी काठमाडौं उत्रिएको भोलिपल्टै रोशनी ‘काण्ड’ मच्चाइएको थियो ।

अहिले सभामुख सापकोटाले अघि नबढाउनुभएको भनिएको एमसीसी प्रस्ताव दर्ता भएर हिजो जहाँ बसेको थियो अहिले पनि त्यहिँ छ । त्यो बेलादेखि अहिलेसम्म सभामुखले टेबुल मात्र नगर्नु भएको बताइन्छ । गत वर्ष महिनौँसम्म सभामुख पद रिक्त थियो । त्यसपछि कोरोनाको कारण संसद बैठक र अधिवेशन सरकार आफैँले छोट्यायो ।

पुस ५ गते प्रधानमन्त्री स्वयमले संसद विघटनको सिफारिश गर्नुभयो । फागुन ११ गतेको सर्वोच्चको आदेशपछि पुनर्स्थापित संसद बैठकमा समेत सरकारले कुनै एजेण्डा अघि बढाउने पहल नगरी बैशाख ६ गतेबाट एक्कासी अधिवेशन अन्त्य गरिएको छ । तर पनि प्रधानमन्त्री ओलीले एमसीसी प्रस्ताव सभामुखले अघि नबढाएको आरोप लगाउन छाड्नुभएको छैन ।

टिप्पणीहरू