राती भेट्ने,बिहान गला रेट्ने प्रधानमन्त्री ओलीको मौलिक शैली

राती भेट्ने,बिहान गला रेट्ने प्रधानमन्त्री ओलीको मौलिक शैली

बुधबार साँझ मेरियट होटलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फ्याट्ट भन्नुभएको विषयलाई लहरो तान्दा पहरो गर्जेको रुपमा लिइएको छ ।

पार्टी एकताबद्ध हुनुपर्छ भन्ने मान्यतामा भएको भेटमा प्रधानमन्त्रीले ‘तपाईं र हामी मिल्दा नै पनि संख्या पुग्ने होइन’ भन्दै पहिले नै कुरोबाट छेकारो काट्नुभएको थियो ।

सरकार बनाउने बहुमतको लागि संसदमा १ सय ३८ सांसद चाहिन्छ । तर सर्वोच्चको फैसलापछि अहिले एमालेसँग १ सय २१ सिट मात्र कायम रहेको छ । न्यूनतम बहुमतको लागि थप १७ सिटको आवश्यकता पर्छ । त्यसको लागि अहिले प्रधानमन्त्रीलाई भ्यागुताको धार्नी भएको छ ।

बालुवाटार निकटस्थ स्रोत भन्छ,‘प्रधानमन्त्री बरु भाँच्चिनुहुन्छ तर झुक्नुहुन्न ।’

अर्कोतर्फ बैशाखको चौथो सातासम्म सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनैपर्छ । लगत्तै जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादी केन्द्रले औपचारिक रुपमा अविश्वास घोषणा नगरेपनि यो सरकारको खास संख्या भनेको १ सय २१ हो ।

अब नेता नेपालपक्षीय २७ जना सांसदहरुलाई एकै घानमा सिध्याउने हो भने त्यो संख्या ९४ मा झर्नेछ । कथम् १ सय २१ कायम रहेर जसपाभित्रको पूर्व राजपाका १६ जना सांसदको मत खन्याउँदा पनि सरकारलाई बहुमत पुग्दैन ।

यस्तो अवस्थामा सरकारले कुनै पहल नगर्ने हो भने नीति तथा कार्यक्रम स्वतः फेल हुनेछ । हुन त नीति तथा कार्यक्रम फेल भएपछि प्रधानमन्त्रीको दाउ फेरि संसद विघटन गर्ने नै हो । बालुवाटार निकटस्थ स्रोत भन्छ,‘प्रधानमन्त्री बरु भाँच्चिनुहुन्छ तर झुक्नुहुन्न ।’

राजनीतिक विश्लेषकहरुका अनुसार सरकारको नीति तथा कार्यक्रम फेल भए पनि प्रधानमन्त्रीले राजिनामा दिनुहुने छैन । बरु उहाँले भन्नुहुनेछ ‘पुनर्स्थापित संसदको अधिवेशन सकियो तर,वैकल्पिक सरकार बनेन । अब पनि वैकल्पिक सरकार बन्दैन ।

त्यसकारण मैले संसद विघटन गरेको ठीक छ भनेर विघटनलाई पुनः पुष्टि गर्न अहिले नयाँ फण्डा फालिएको हुनसक्छ । अस्ति र हिजोको भेटघाट पनि त्यहि हो ।’

प्रधानमन्त्रीले अरुलाई आफ्नो योजनाबाट विमुख बनाउन विभिन्न भेटघाटसमेत गर्ने गर्नुभएको छ । यसअघि पुस ४ को बेलुका पनि प्रधानमन्त्रीले भैंसेपाटी पुगेर एमाले उपाध्यक्ष वामदेव गौतमलाई भेट्नुभएको थियो । भोलिपल्ट बिहान प्रतिनिधि सभा विघटन हुँदा जिल्ल पर्ने पालो वामदेवकै रह्यो ।

त्यसरी अघिल्लो साँझ भेट्नुको उद्देश्य आफू पार्टी एकताको लागि एकदम लचिलो रहेको सन्देश दिँदै अन्तिम प्रयास गरेको देखाउनु नै थियो । त्यसो गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका गतिविधि अलि बढी नै रहेको पुष्टि गर्न सजिलो हुने निश्कर्ष हो ।

अहिले पनि नेपालसँग भेट्नुको उद्देश्य अन्तिमसम्म पहल गरेको थिएँ भनेर पार्टी कार्यकर्ता र जनमानसलाई विश्वस्त पार्नु रहेको बताइन्छ । यो हदसम्म गर्दा पनि नेपालले मान्नुभएन,पार्टी एकताको लागि उहाँ तयार रहनुभएन भन्ने देखाउनको लागि बुधबार र बिहिबार भेट गरिएको आशंका गर्नेहरुको कमि छैन ।

टिप्पणीहरू