एमाले विवादले कानूनी रुप लियो,प्रधान र उपप्रधानमन्त्रीमाथि मुद्दा दर्ता

एमाले विवादले कानूनी रुप लियो,प्रधान र उपप्रधानमन्त्रीमाथि मुद्दा दर्ता

नेकपा एमालेका चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।

आजै दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले फागुन २८ पछि गरेका निर्णय खारेज गर्न माग गरिएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालका तर्फबाट तिलकबहादुर थापाको वारेसनामामा दर्ता भएको रिटमा आफूहरुमाथि गरिएका कारवाही र स्पष्टिकरणको निर्णय अवैधानिक र पार्टी विधानविपरित भएकाले उत्प्रेषण,प्रतिषेध र परमादेशको आदेश दिन माग गरिएको छ ।

सांसद पदबाट कारबाही गर्ने ओलीको निर्णय दलसम्बन्धी ऐन २०७३ को व्यवस्था विपरित भएकाले खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । त्यस्तै,नेकपा एमालेलाई पूर्ववत् हैसियतमा फर्काउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार अविलम्ब केन्द्रीय कमिटी बैठक बोलाएर २०७५ जेठ २ को अवस्थामा पुर्याउन माग गरिएको छ ।

रिट निवेदनमा ओली र पोखरेलका साथै निर्वाचन आयोग,सभामुख र संघीय संसद सचिवालयलाई पनि विपक्षी बनाइएको छ।

रिट निवेदनसंगै उनीहरुले प्रमाणका रुपमा ओलीले सोधेको स्पष्टीकरण र त्यसको जवाफ, निलम्वनका प्रतिलिपिहरु, अन्तरपार्टी निर्देशन, नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदनको प्रतिलिपि, एमालेको विधान र नियमावलीसमेत पेश गरेका छन् ।

अध्यक्ष ओलीले अस्ति बरिष्ठ नेताद्वय झलनाथ खनाल,माधव नेपाललगायत सो पक्षका संघीय संसदका २७ जनालाई छुट्टै दल बनाएको आरोपमा स्पष्टिकरण सोध्नुभएको थियो । ओलीको उक्त निर्णयविरुद्ध एमालेका चार नेता अदालत पुगेका हुन् । आइतबार मुद्दाको पेसी तोकिएको छ ।

टिप्पणीहरू