भर्खरै निर्वाचित पत्रकार महासंघका सदस्य बलात्कार आरोपमा पक्राउ

भर्खरै निर्वाचित पत्रकार महासंघका सदस्य बलात्कार आरोपमा पक्राउ

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका एक सदस्य जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । महासंघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य पुनहरी बेलबासे बलात्कारको आरोपमा शुक्रबार समातिएका हुन् । उनलाई जिल्ला अदालतले हिजो म्याद थपेको छ ।

भैरहवाको रविपथस्थित नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको अभियोग लागेको छ । युवतीले जवर्जस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हाे ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बेलबासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शु:ल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शु:ल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको दावी गरेको प्रहरीको भनाइ छ ।

बेलबासे आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू