एमाले अब थापाथलीबाट चल्ने

एमाले अब थापाथलीबाट चल्ने

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडका माइतीघर हाइट बस्ने आफन्तको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्न लागेको नेकपा एमाले आजदेखि त्यता सरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन दिवसको अवसर पारेर उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।

२०७२ सालको महाभूकम्पले बल्खुस्थित कार्यालय क्षतिग्रस्त भएपछि त्यसयता एमालेले भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको छ । यसअघि यति ग्रुपका मालिकको धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा कार्यालय रहेकोमा उक्त भवन चक्रपथ बिस्तारको क्रममा पर्ने भएपछि एमाले माइतीघर हाइटमा सरेको हो ।

आज बिहान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नयाँ ठाउँ पुगेर कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालयमा आफू र महासचिव इश्वर पोख्रेललाई छुट्टाछुट्टै बस्ने व्यवस्था,बैठक कक्ष र सवारी साधन पार्किङको पर्याप्त सुविधा रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आजै बल्खु, मदननगरस्थित पार्टी कार्यालय भवन शिलान्याससमेत गर्नुभएको छ । बल्खुको पार्टी कार्यालय नबन्दासम्म अब एमाले कार्यालय नवप्रवेशी मारवाडीको घरमा बस्नेछ ।

टिप्पणीहरू