साँसदहरु सरकारमाथि खनिए

साँसदहरु सरकारमाथि खनिए

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र भए पनि नियन्त्रणका कदम चाल्न सरकार उदासीन रहेको प्रतिनिधिसभाका सांसदहरुले बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएको भएपनि यसको रोकथाम,न्यूनीकरण तथा व्यवस्थापनमा सरकारले उदासिनता देखाएको बताएका हुन् ।

कोरोना महामारीमा अघिल्लो वर्ष भएका कमिकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा सोसम्बन्धमा थप व्यवस्थापन नगरी सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको आरोप थियो ।

सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशील बन्न नसक्नु आश्चर्यको कुरा भएको बताउनुभयो । अस्पतालहरुको अवस्थामा अझै सुधार नआएको भन्दै उहाँले सरकार आफैँले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताउनुभयो ।

सांसद अञ्जना विशंखेले दीर्घ रोगका बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विगतमा क्वारेन्टिनका खानाको गुणस्तरबारे प्रश्नचिन्ह तेर्सिएकाले आगामी दिनमा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले काठमाडौंमा कोरोना संक्रमणदर बृद्धि भए पनि अझै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताउनुभयो । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाई थियो ।

टिप्पणीहरू