गेल र कोनवेकको रेकर्डसँग बराबरी गर्न चुके भूर्तेल !

गेल र कोनवेकको रेकर्डसँग बराबरी गर्न चुके भूर्तेल !

युनिभर्सल बोसका नामले परिचित वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल र न्युजिल्याण्डका डेभोन कोनवेले टि–२० अन्तर्राष्ट्रिय सिरिजमा बनाएको लगातार चार अर्धशतकीय पारीको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

नेपालमा जारी त्रिकोणात्मक सिरिजमा लगातार तीन अर्धशतक बनाएका नेपाली ब्याट्सम्यान कुशल भुर्तेललाई गेल र कोनवेलेले बनाएको कीर्तिमान बराबरी बनाउने अवसर थियो । सिरिजअन्तर्गत मलेसियाविरुद्ध अहिले जारी खेलमा ५० रन बनाउन सकेको भए उक्त किर्तिमानमा भुर्तेलको पनि नाम लेखिन्थ्यो । तर, आजको खेलमा उनी १६ रन बनाएर आउट भए ।

टि–२० अन्तर्राष्ट्रियको आफ्नो डेब्यु खेलमै अर्धशतक बनाएर सनसनी मच्चाएका भुर्तेलले अरु दुई खेलमा पनि लगातार अर्धशतकीय पारी खेलेका थिए । आज मलेसियाविरुद्धको खेलमा भने उनले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो खेलमा नेदरल्याण्डस्विरुद्ध ६२ रनको अर्धशतकीय पारी खेलेका भुर्तेलले डेब्यु खेलमै अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडीको कीर्तिमान कायम गरेका थिए । यस्तै,दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ जोडेका उनले तेस्रो खेलमा पुनः नेदरल्याण्डस्विरुद्ध ६२ रन बनाउँदै डेब्यु सिरिजमै लगातार ३ अर्धशतकीय पारी खेल्ने खेलाडी बनेका हुन् ।

लगातार तीन अर्धशतकीय पारी खेलेका भुर्तेल भारतलगायतका देशहरुको मिडियामा चर्चामा छन्।

सिरिजमा नेपाल र नेदरल्याडस् सिरिजको फाइनलमा प्रवेश गरिसकेका छन् । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरको खेल चलिरहँदा ११० रन बनाएर दुई विकेट गुमाएको छ ।

टिप्पणीहरू