हिजो भेटघाट,आज ठोकठाक

हिजो भेटघाट,आज ठोकठाक

झन्डै डेढ महिना लामो सँवाददहीनता अन्त्य गर्दै हिजो साँझ अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच होटलमा अप्रत्यासित भेटघाट भएपछि फुटको सन्निकट पुगेको एमाले एकतावद्ध हुने धेरैको आशा थियो । नेता नेपालसहित उहाँनिकट २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोधेको भोलिपल्ट भएको यो भेटघाटले एमालेका नेता-कार्यकर्तामा खुशी छाएको देखिन्थ्यो ।

हिजोको भेटघाटमा के छलफल भयो भन्ने अझै बिस्तृत विवरण बाहिर आएको छैन । यद्यपि छलफल सकारात्मक भएको भन्दै नेता-कार्यकर्ता उत्साहित भैरहेकै बेला आज प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपाल समूहसँग कुनैपनि सम्झौता नगर्ने बताएपछि विवाद समाधान हुने भन्दा पनि थप बल्झिने दिशामा गएको अनुमान गर्न थालिएको छ ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै ओलीले गुटगत गतिविधि गरेर नेता नेपालले पार्टीलाई धवस्त पार्न खोजेको आरोप लगाउनुभयो र गुटलाई मान्यता दिनेगरी कुनैपनि सम्झौता नगरिने चेतावनी दिनुभयो । उहाँले नेपाल समूहले पार्टी र सरकारको सफलता,प्रशंसा र लोकप्रियता देख्न नसकेको आरोप लगाउँदै अनुशासनहीन गतिविधि गर्नेसँग सम्झौता हुन नसक्ने बताउनुभयो ।

आफूलाई सिध्याउन नेता नेपालले साधारण सदस्यसमेत नरहने गरी हटाएको भन्दै ओलीले आफूले अहिलेसम्म त्यसो नगरे पनि अब गुटगत गतिविधिलाई छुट नदिने दोहोर्याउनु भयो । नेता नेपालले आफू र पार्टीविरुद्ध निर्मम प्रहार गरी अराजक ढंगले पार्टी कव्जा गर्न खोजेको आरोप लगाउँदै उहाँले त्यस्ता गतिविधिमा संलग्नलाई सच्चिने मौका दिएको र त्यसलाई आफ्नो कमजोरी नठान्न चेतावनी दिनुभयो ।

प्रचण्डसँग मिलेर नेपालले आफूलाई पार्टीबिहीन बनाउन लागेको भन्दै ओलीले अहिले पनि त्यस्तै गतिविधि गरिरहेको बताउनुभयो । ‘देशभर नयाँ पार्टी खोलेका छन्,उनीहरुले यति उपद्राे गर्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्दै आएका छौँ । अब गुटबन्दी र भागवण्डा गर्ने र पार्टी खोक्रो बनाउनेलाई सहन सकिंदैन । त्यस्ता गतिविधि गर्नेलाई कारवाही गरिन्छ ।’

ओली र नेता नेपालबीच हिजो काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा २ घण्टा छलफल चलेको थियाे । उक्त छलफल सकारात्मक भएको र एमालेभित्रको विवाद साम्य हुने उच्चतहकै नेताहरुको दाबी सार्वजनिक भैरहेकै बेला आज प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी कार्यालय शिलान्यास गरिएको भन्दै दुई वर्षभित्र तयार हुने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा बादल,अर्थमन्त्री विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ,प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ,राष्ट्रियसभा सदस्य कोमल वली,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल,प्रेस सल्लाहकार सूर्य थापा, एमाले काठमाडौँ वडा नं. १४ का वडाअध्यक्ष शोभा सापकोटालगायत उपस्थित थिए ।

ठूलो भीडभाडकाबीच गरिएको कार्यक्रममा सामाजिक र भौतिक दूरी भने कायम गरिएको थिएन । २०७२ सालको महाभूकम्पले भत्केको कार्यालय रहेकै ठाउँमा आज नयाँ कार्यालय शिलान्यास गरिएको हो । सो क्षेत्र सार्वजनिक जग्गासमेत गरी करिव १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

टिप्पणीहरू