यति पैसा निल्नु न ओकल्नु-सञ्चार सचिव

यति पैसा निल्नु न ओकल्नु-सञ्चार सचिव

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षका लागि प्राप्त बजेटको सिलिङ्गले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न पनि नपुग्ने बताएको छ ।

प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा मन्त्रालयको बजेटवारे छलफल हुँदा सचिव हरिप्रसाद बस्यालले अर्थ मन्त्रालयबाट ७ अर्ब २८ करोड ५१ लाख रुपैयाँको बजेट सिलिङ्ग प्राप्त भएको तर चालु खर्च ८ अर्ब २९ करोड १० लाख रुपैयाँ रहेको बताउनुभएको छ । सचिवले मन्त्रालयको पूँजीगत खर्च १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबर हुने पनि बताउनुभएको हो ।

आगामी बजेटले अनिवार्य दायित्वका लागि खर्च गर्नुपर्ने रकम अपुग हुने उहाँले बताउनुभयो । मन्त्रालयको योजनाअनुसारका कार्यक्रमको लागि बजेट विनियोजन गर्दा मन्त्रालयलाई प्राप्त बजेट सिलिङ्गभन्दा ५ अर्ब बढी अपुग हुने पनि बस्यालले बताउनुभयो ।

त्यसो त मन्त्रालयले हुलाक सेवाका लागि मात्रै ४ अर्बभन्दा बढी बजेट विनियोजन गर्नुपर्नेछ । यो रकम हुलाक सेवामा रहेका १८ हजार जनशक्तिको तलब भत्ताका लागि खर्च हुन्छ । उहाँले भन्नुभयो ‘राजस्व बजेटको तुलनामा नगन्य छ । सर्भिस पनि प्रभावकारी छैन । राजस्व उठाएर आफैँ धानिनसक्ने अवस्थाको छैन ।’

मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का प्रक्रिया पूरा गरिसकेको पनि सचिव बस्यालले बताउनुभयो । हालको लागि अन्तःशुल्कको स्टिकर,हुलाक टिकट,लालपुर्जा, सर्टिफिकेटलगायत छाप्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का प्रक्रिया पूरा गरिसकेको उहाँको भनाइ थियो ।

यस्तै बनेपामा रहेको आईटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस राख्ने र खुमलटारस्थित जग्गामा आइटीपार्क बनाउने गरी तयारी गरिएको पनि जानकारी दिनुभयो ।

छलफलमा सांसदहरुले नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पुर्याउन र भरपर्दो सेवा दिने गरी काम गर्न आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

टिप्पणीहरू