यूरोप पठाउने भन्दै पैसा उठाउँदै

यूरोप पठाउने भन्दै पैसा उठाउँदै

यूरोप पठाउने नाममा ठगीधन्दा चलाउँदै आएका एकजना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका-३ घर भई ग्राण्डी काठमाडौँको नयाँबजारमा ग्लोबल होलिडे प्रालि संचालन गर्दै आएका भरतप्रसाद राईलाई प्रहरीले ठगीको आरोपमा समातेको हो ।

राईले भिजिट भीसामा यूरोप पठाउने भन्दै प्रतिव्यक्ति १० लाख माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यूरोप पठाउने नाममा विभिन्न प्रलोभनमा पारेर रकम लिई फरार रहेका राई आज पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

राईले पोर्चुगल,लाटभिया, युक्रेनलगायतका देशमा पठाउने भन्दै तेह्रथुम फेदाप गाउँपालिका-३ जलजलेका सागर लिम्बुसहित अन्य ६ जनाबाट १९ लाख ४७ हजार रकम लिएर सम्पर्कबिहीन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पंगेनीले बताए ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

टिप्पणीहरू