ओली र नेपाल-न धुम्बाराही,न बालुवाटार

ओली र नेपाल-न धुम्बाराही,न बालुवाटार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौं, नागपोखरी नजिकैको मेरियट होटलमा भेटवार्ता शुरु भएको छ ।

हिजो बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले पदबाट किन नहटाउने भन्दै दुई दिनको म्याद दिएर स्पस्टिकरण सोधेको भोलिपल्ट भएको अध्यक्ष र वरिष्ठ नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा अर्थमन्त्री विष्णु पौडेलको समेत उपस्थिति रहेको छ । एकोहोरो कारबाहीको प्रक्रिया अघि बढाएपनि प्रधानमन्त्री पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा केही दिनदेखि खासै नखुल्नुभएको बालुवाटार स्रोतको दाबी छ ।

आजै दिउँसो प्रधानमन्त्रीले नेपाललाई फोन गरेर भेटको लागि आग्रह गरेपछि नागपोखरीको मेरियट होटललाई मिटिङ प्वाइन्ट बनाइएको थियो ।

नेपाल बालुवाटार नजाने,प्रधानमन्त्री कोटेश्वर नजाने र पार्टी मुख्यालय धुम्बाराहीसमेत मध्यस्थता गर्ने थलो नबनेपछि एमाले सचिव योगेश भट्टराईले बालुवाटारमा भेटेर दिएको सुझावका आधारमा होटल मेरियट रोजाईमा परेको बताइन्छ । योगेशकै सामु दुई नेतावीच फोनवार्ता भएलगत्तै पौने छ बजेदेखि लामो शीतयुद्धपछिको भेटवार्ता शुरु भएको हो ।

टिप्पणीहरू