एउटै बेडमा सुतेका राष्ट्र बैंकका ३ महिला कर्मचारी संक्रमित, अरुलाई कडा लिखित निर्देशन

एउटै बेडमा सुतेका राष्ट्र बैंकका ३ महिला कर्मचारी संक्रमित, अरुलाई कडा लिखित निर्देशन

केही दिनअघि नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको भीभीआईपी गेष्ट हाउसमा दुई रात सुतेका केन्द्रीय कार्यालय बालुवाटारका तीन जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिदा मनाउन नेपालगञ्ज हुँदै रारा घुमेर आएपछि उनीहरूमा कोरोना देखिएको हो । त्याेसँगै बैंकमा दाेस्राे लहरकाे काेराेना फैलिएकाे भन्न थालिएकाे छ ।

बैंकको नेपालगञ्ज कार्यालयका एकजना अधिकृतका अनुसार तीनै जना महिला रारा जाँदा र फर्कंदा दुइ रात बैंक गेष्ट हाउसको माथिल्लो तल्लाको कोठा नम्बर १ मा सँगै पल्टेका थिए । प्रायः गभर्नर,डेपुटी गभर्नर र ठूलाबडाको निम्ति आरक्षित उक्त कोठाको किंग साइजको बेडमा तीन जना सुतेका कारण एउटाबाट अर्कोमा संक्रमण सजिलै सरेको बताइन्छ ।

नेपालगञ्ज गेष्ट हाउसको किंग साइजको बेड दश वर्षअघि गभर्नर युवराज खतिवडाको पालामा किनिएको हो । खतिवडा कार्यालयको काममा नेपालगञ्ज जाने भएपछि पुरानो क्विन साइजको बेडको सट्टा उनकै साइजको बेड किन्नुपरेको बताइन्छ । स्रोत भन्छ ‘खतिवडा लमतन्न परेर सुत्दा आधी गोडा बाहिर झर्ने भएपछि सात फिट लामो र सातै फिट चौडाको बेड किनिएको थियो ।’

केही दिनअघि त्यहि रुम र बेडमा गभर्नर महाप्रसाद अधिकारीले दुई रात बिताएको स्रोतले उल्लेख गरेको छ । संक्रमित कर्मचारीहरू नेपालगञ्जबाट फर्केको तीन दिनपछि अधिकारी त्यहाँ गएका हुन् । स्थानीय बागेश्वरी मन्दिरमा एउटा बैंकको क्युआर कोड उद्घाटन गर्न उनी गएका थिए । एक रातको लागि भनेर गएका गभर्नर मौसमको कारण हवाइजहाज नउडेपछि दुई रात त्यहि भीभीआईपी रुममा रहेको किंग साइजको बेडमा सुतेको बताइन्छ ।

कोरोनाको बिगबिगी भएपछि नेपालगञ्जमा बुधबार मध्यरातदेखि लकडाउन घोषणा गरिएको छ । संक्रमित कर्मचारीका कारण बैंकको केन्द्रीय कार्यालयमा कन्ट्याकट ट्रेसिंग शुरु गरिएको छ । कन्ट्याकट ट्रेसिंगमा पर्ने तर संक्रमण पुष्टि नहुने कर्मचारीहरू दंग हुने गरेको बताइन्छ । बैंकको फितलो कार्यविधिका कारण उनीहरूलाई पाँच दिन घर बस्ने सुविधा प्राप्त हुने गरेको हो ।

यता हालै नियुक्त डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी पशुपतिनाथको दर्शन गरेकी छन् । श्रीमान् र बैंकका एकजना निर्देशकको साथमा बैंकको सवारी साधन र चालकसहित मन्दिर पुगेकी डेपुटीको फोटोको पोजले पनि स्वास्थ्य सुरक्षालाई गिज्याएको गभर्नर कार्यालयका एकजना उपनिर्देशकले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले मातहत निकायलाई सजिलैसँग लिखित निर्देशन दिएर पन्छिने गरेको छ । तर आफूले भने कुनै नियम र विधिको पालना नगरेपछि बैंकमा पुनः कोरोना बढ्न थालेको बताइएको छ ।

अन्य निर्देशनझैँ कोरोना संक्रमण रोकथामको लागि अरुलाई ठाडो आदेश दिने राष्ट्र बैंक आफैँले भने त्यसको खासै पालना गरेको पाईंदैन । बैंकको नियमन विभागले हालै बैंकहरूलाई कोरोना संक्रमण रोकथामको लागि भन्दै लामो निर्देशन जारी गरेको छ । उक्त विभाग डेपुटी ढुंगाना मातहत छ ।

टिप्पणीहरू