अदालत जाने तयारीमा माधव नेपाल

अदालत जाने तयारीमा माधव नेपाल

नेकपाको एकता भंग गरी एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसला कार्यान्वन नगरेको भन्दै नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षले मानहानी या अदालतको अवहेलनासम्बन्धी मुद्धा हाल्ने भएको छ । नेपाल पक्ष अहिले केहीबेरमा अदालत जाने तयारीमा जुटेको बताइएको छ ।

गत फागुन २३ गते नेकपाको नामसम्बन्धी विवादमा निर्णय गर्दै सर्वोच्चले दुवै पार्टीलाई एकतापूर्वको हैसियतमा पुर्याइदिएको थियो । फैसलाले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याए पनि अध्यक्ष ओलीले सोहिअनुसार पार्टी संचालन नगरेको नेपाल समूहको आरोप छ ।

नेपाल पक्षले यसअघि निर्वाचन आयोगलाई पनि अध्यक्ष ओलीले गरेका निर्णयलाई वैधानिकता नदिन माग गर्दै पत्र बुझाएको थियो । तर,नेकपाको वैधानिकताको विवादमा जस्तै अहिले पनि नेपाल समूहको मागप्रति आयोग उदासीन बनेपछि अदालत जाने अवस्था आएको नेपाल पक्षका एक नेताले बताए ।

‘एमालेलाई एकतापूर्वको अवस्थामा पुर्याउने अदालतको फैसलापछि त्यहि बिन्दुबाट पार्टी संचालन हुनुपर्थ्यो । तर,अध्यक्ष ओलीले हामीलाई बाहिरै राखेर आफूखुशी निर्णय गर्नुभयो । ती निर्णयलाई वैधानिकता दिलाउन निर्वाचन आयोग पुग्नुभयो’, ती नेताले भने, ‘हामीले आयोगलाई यसबारे जानकारी गराउँदा अदालतको कारण एमाले ब्युतिएको हो, अब अरु निर्णय पनि उतैबाट हुन्छ भनेजस्तो गरी आयोग प्रस्तुत भएपछि अदालत जाने तयारी गरेका हौँ ।’

पूर्वमाओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, आफू अनुकूल कमिटी पुनर्गठन गर्ने, विधान विपरित केन्द्रीय कमिटी भंग गरेर आयोजक समिति बनाउने लगायत ओलीले गरेका निर्णयले २ जेठ २०७५ को अवस्थामा फर्काउने अदालतको फैसलाको अवज्ञा गरेको नेपाल पक्षको ठहर छ ।

टिप्पणीहरू