सुशासन थेग्नेहरु साह्रै सकसमा

सुशासन थेग्नेहरु साह्रै सकसमा

कार्यसम्पादन अब्बल भएका कर्मचारी सात–आठ महिनामै खेदिने र सेटिङ कलामा पारंगत चाहिँ आठ वर्षदेखि एउटै अड्डामा लिसोझैं टाँसिरहेकाबाट पनि स्पष्ट हुन्छ, मुलुक सरकारले कम र व्यापारीले बढी चलाउँछन् ।

निजामती सेवा सुधार्न कम्मर कसेर लाग्ने सहसचिव हुन्– भिष्म भुसाल, कुमार दाहाल । जो कुनै पनि निकायमा सात/आठ महिनाभन्दा बढी टिकेको रेकर्ड छैन । अनि विश्वबाबु पुडासैनी मार्काका कर्मचारी पनि छन् जो आठ वर्षदेखि एउटै अड्डा रुंगिरहेछन् । उनी बालाजुस्थित गुणस्तर तथा नापतौल विभागका हाकिम हुन् ।

सोही अवधिमा सुधारवादी प्रशासक भनेर चिनिएका डा. भुसाल, कुमार दाहालहरू आधा दर्जनभन्दा बढी ठाउँमा सरुवा भइसकेका छन् । उनीहरू यस्ता पात्र हुन् जहाँ पुग्यो त्यहीं तहल्का पिट्छन् । भुसाल केही महिनाअघि कामै नलाग्ने अड्डाको रूपमा परिचित नेपाल ट्रस्टको कार्यालयतिर खेदिए, सँगै बालुवाटारवालाका लागि काउसो बने । परिणामतः साताअघि त्यहाँबाट वित्त आयोगतिर धपाइएका छन् । नेपाल ट्रष्ट स्रोतका अनुसार सरुवाको चिठी त्यहाँ पुगिसकेको छ ।

भुसाल यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदै वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यसम्पादनमा अब्बल थिए । वैदेशिक रोजगार विभागमा पुगे । कामदारसँग चर्काे रकम असुल्नेदेखि, अवैध रूपमा विदेश लैजानेविरुद्ध खरो उत्रिए । कामदार ठग्ने म्यानपावरलाई करोडौंसम्म जरिवाना गरे, त्यहाँबाट १० महिना नबित्दै खेदियो र अख्तियारको कार्यालय बुटवल पु¥याइयो । त्यहाँ रहँदा उस्तै छुरा । राजश्व अनुसन्धान कार्यालयका तीन भ्रष्ट उपसचिवलाई अँठ्याए । भ्रष्टाचारी कर्मचारीलाई पाता कसेको बदलामा ९ महिना नबित्दै नेपाल ट्रष्टको कार्यालयतिर खेदिनेमा परे ।

नेपाल ट्रष्ट कर्मचारीलाई थन्क्याउने कार्यालयको रूपमा परिचित । अहिले त्यहाँको सचिव छन्, सुरेश आचार्य । कर्मचारीले हृदयदेखि नै चाहने हो भने धेरै हदसम्म सुधार सम्भव छ भन्ने प्रमाणित गर्दै आएका भुसाल त्यहाँ पुगेपछि फेरि बालुवाटारको टाउको दुखाउने पात्र बने । बालुटारकै संरक्षणप्राप्त यति समूहलाई तह लगाउने गरी एक्सनमा काम प्रारम्भ गरेसँगै भुसाललाई त्यहाँबाट अघिल्लो साता खेदिएको हो । नेपाल ट्रष्टको अध्यक्ष छन्, ईश्वर पोखरेल, त्यहाँ सचिव खगराज अधिकारी, योङजोङ शेर्पा, प्रवीणराज दाहाल, नन्दबहादुर रोकाया सञ्चालक समितिमा छन् । भुसाल सदस्य सचिवको हैसियतमा कार्यरत थिए तर यति समूहकै खिलाफमा काम गर्न थालेपछि अघिल्लो साता वित्त आयोगतिर फालिएको छ ।

अर्का खोटांगे सहसचिव कुमार दाहाल उपसचिवबाट सहसचिवमा बढुवा हुनेबित्तिकै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक चलाए तर ५ महिना नपुग्दै फालिए । फालिनुपर्ने कारण थियो त्यहाँ रहँदा चौधरी ग्रुप, आरजु राणा जस्ता सम्भ्रान्त वर्गको सिण्डिकेट तोड्ने प्रयास । सोही बदलामा काठमाडौंबाट खेदेर विराटनगर महानगरपालिकातिर फालिए । त्यहाँबाट यातायात व्यवस्था विभागको हाकिम भएर, ५ महिना नबित्दै फेरि खेदिए ।

यातायातमा सिण्डिकेट लाद्दै आएको ल्होत्सेसँग पंगा खेले । त्यहाँबाट राष्ट्रिय सूचना आयोग र वैदेशिक रोजगार विभाग पुगे । वैदेशिक रोजगारीको बहानामा भइरहेको ठगीको जालो तोड्न खोजे । तर मन्त्री, सचिवभन्दा व्यापारी बलियो भएको मुलुक न प¥यो ! त्यहाँबाट पनि व्यापारीले खेदेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय लुम्बिनीतिर फालिएका छन्, अघिल्लो साता ।

टिप्पणीहरू