लामोपुल तर्दा बागलुङ नगरपालिकालाई कर तिर्नुपर्ने

लामोपुल तर्दा  बागलुङ नगरपालिकालाई कर तिर्नुपर्ने

बागलुङको लामोपुल तर्दा पैसा तिर्नुपर्ने भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पेसा तिर्नुपर्ने भएको हो ।

बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुलमा शुल्क लिन थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीले जानकारी दिनुभयो । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका स्थानीय, यहिँ बसोबास गरी दिनदिनै ओहोरदोहोर गर्ने व्यक्ति, यहाँ कार्यरत कर्मचारीहरु बाहेक पुलमा घुम्नकै लागि टाढा टाढाबाट आउनेहरुका लागि शुल्क लिइने उहाँको भनाई छ ।

पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने छ । नगरपालिकाका कर्र्मचारीहरुले आधिकारिक रुपमा नै रसिद काटेर शुल्क लिन थालेको अधिकृत ज्ञावालीले बताउनुभयो । बैशाख १ गतेदेखि नै यो नियम लागु गर्ने भनिएपनि तयारी नपुगेका कारण मंगलबारबाट लागु गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

“चैते दशैको अवसर पारेर शुल्क लिइएको नभइ अब यो सँधैको लागि लागु हुन्छ” उहाँले भन्नुभयो “नेपाल सरकारले बागलुङ नगरपालिकालाई मर्मत सम्भार सहित सम्पूर्ण जिम्मेवारी सुम्पिएपछि हामीले नियम संगत ढंगबाट शुल्क लिन थालेका छौँ ।” स्थानीय श्रोत साधनको कर लिन पाउने अधिकार अनुसार कर लिइएको भन्दै उहाँले अब यसलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको छ ।

मर्मत सम्भार गर्ने नगरपालिकाको दायित्व भएपछि कर लिन थालिएको नगरपालिकाले जनाएको छ । सर्वाधिकार बागलुङ नगरपालिकालाई भएकाले कुश्मा नगरपालिकामा भने कर तिर्नुपर्ने छैन ।

यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । लामो पुल हेर्नकै लागि भन्दै उहाँ टाढा टाढाबाट पर्यटकहरु आउने गरेका छन् । यस्तो खालको पुल यो नै विश्वको लामो दावी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डस् मा दर्ता गराउन तयारी गरेको छ । यहाँ दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने गरेका छन् ।

टिप्पणीहरू