महिलाले बनाए दुई दशकसम्म यौनदास

महिलाले बनाए दुई दशकसम्म यौनदास

सुन्दै अचम्म लाग्ने ! तर सत्य त्यही हो जुन विज्ञान कोइरालाले भोगे एउटा दन्त्यकथा । मानसिक पीडाले ग्रस्त कुपोषित कोइराला ३४ वर्षमैँ पाको उमेरका देखिन्छन् । उनले पत्रकारहरुमाझ सकि नसकी आफूमाथि आइलागेको विपत्ती कहे,‘मलाई राम्रो राम्रो मीठो मीठो परिकार खान दिन्थे, रक्सी,बियर,मासु दिनैजसो ख्वाउँथे । चुरोट पनि दिन्थे । यति मीठा परिकार खाएपछि मेरो काम महिलालाई यौन सन्तुष्टि दिनुहुन्थ्यो ।’

कोइराला काला दिन सम्झँदै भन्छन्, ‘काठमाडौंमा काम खोज्दै हिँडेको बखत सामाखुसीबाट अपहरण गरी बन्धक बनाए ।’ २० वर्षअघि अपहरित कोइराला त्यसबेला १४ वर्षका हट्टाकट्टा थिए । उनी त्यो दिन सम्झन्छन्, ‘लखतरान भएर हिँडदै थिएँ । साँझ परेको थियो । एक्कासी पछिल्तिरबाट कपडाले छोपेर बेहोश बनाई गाडीमा हालेर कता पुर्याए कता । थाहै भएन । होश खुल्दा भने एउटा घरको कोठामा सुतेको पाएँ ।’

उनलाई शुरुका केही दिन अपहरणकारीले घरेलु कामदार बनाए । केही दिनपछि भने यौनदासको रुपमा व्यवहार गर्न शुरु गरे । भनेको नमान्दा यातना दिए । एकान्त ठाउँको घरको उज्यालो कोठामा बसेर रुन कराउन निषेध थियो । कराउँदा चुरोटका ठुटाले शरीरका सवेदनशील अंगलगायतका विभिन्न भागमा पोल्थे । उनलाई अपहरण गर्नेहरु पुरुष नभएर चार महिला थिए । उनीहरु पालैपालो उनीविरुद्ध निगरानी गर्ने र यौन सन्तुष्टि लिन्थे । उनीहरु नेपाली, हिन्दी र अंग्रेजीमा बात मार्थे । कोइरालाले ती महिलासँग यसरी नैं २० वर्ष बिताए ।
खोटाङ जिल्लाको साबिक चिसापानी गाउँ विकास समिति १ का स्व. भीमबहादुर र देवकुमारी कोइरालाका जेठा छोरा विज्ञानका दुःख यतिमै मात्र सीमित रहेन । तन्दुरुस्त हुँदा यौन आनन्द लिएका महिलाहरुले उनलाई काम नलाग्ने ठानेपछि बेहोश हालतमा एक पोकासहित बेवारिसे छाडेका रहेछन् । उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘गएको चैत २० वा २१ गते होला मैले आफूलाई ब्युझँदा चारैतिर चकमन्न अन्धकार थियो । हिँड्दै जाँदा उज्यालो भयो । थाहा पाएँ म पुगेको ठाउँ त बल्खु रहेछ ।’ त्यसपछि अनेकौं ठक्कर खाँदै हिडेका उनी नेपालगञ्ज पुगेर एक आश्रमको सहारामा बसे ।

त्यही बेला सामाजिक सञ्जालमा देखिएको फोटोको आधारमा वाजिन्द्र बिष्टले भाइ सुवास कोइरालालाई खबर गरे । २० वर्षअघि हराएको तिम्रै दाइ हुनुपर्छ भनेर जिद्दी लिए । विष्टकैं जिद्दीले २५ चैतमा बाँके पुगे । त्यसबेला दाइ विज्ञानको अवस्था देखेर भाइ हक्क न बक्क भए । दाइ एकदमै कमजोर देखिन्थे ।

दाइको शारीरिक अवस्थाको परिक्षण गरे । त्यसबेला उनलाई अर्को ठूलो झड्का लाग्यो । विज्ञानको शरीरको ढाड,छातीमुनि चार इञ्चजति चिरेर सिलाएको रहेछ । थप परिक्षण गर्दा थाहा भयो, उनको भित्री अङ्ग फियो पनि झिकिएको रहेछ । र, उनको यसबेला शारीरिक मात्र होइन मानसिक स्थिति निकै कमजोर देखिन्छ ।

फोटो स्रोत : राजेन्द्र दुस्ता

दुःखको पहाडले थिचेर उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर ४ सिवाईमा झरेका कोइराला परिवारमाथि आमाले छोरा,भाइले दाजु भेटेको दिन खुशी हुनु पर्ने हो । तर विपद्को पहाड चुलिएको छ । कमजोर र बिरामी दाजुको उपचार गर्ने खर्च छैन । ऋणपान गर्नको लागि बन्धकी राख्ने सामानहरु छैनन् । अधमरो विज्ञानलाई लिएर बैशाख १ गते आमा देवकुमारीको सम्पर्कमा आए । आमा हराएको छोरा भेट्दा खुशी भए पनि अधमरो छोरा देखेर विलखबन्द परेकी छन् । किनकि छोराको उपचार गर्ने सुको छैन । कान्छा छोराको कमाइले उपचार गर्न सक्ने अवस्था छैन ।

त्यसैले सुवास गुहार्दैछन्, ‘अपराधीहरुलाई पत्ता लगाउन र मेरो मर्न लागेको दाइलाई जीवनदान गर्न सहयोगको निम्ति सबैसँग अपिल गर्छु । सहयोगको लागि मोबाइल नम्बर हो सुवाष कोइराला ९८४२२३७५७६ ।

यसैबीच चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राई भन्छन्, ‘भर्खरै थाहा पाएँ, गरिब निमुखाहरुको लागि उपचार गर्ने स्वास्थ्य राहत कोषको व्यवस्था छ । त्यसैबाट कोइरालाको उपचारमा सहयोग गर्छौं । र, यो बेला पनि यौनदास बनाउनेविरुद्ध अनुसन्धान र कारबाहीको माग गर्छौं ।’

टिप्पणीहरू