पत्रकारको कार्यालयमा तालाबन्दी

पत्रकारको कार्यालयमा तालाबन्दी

गत चैत २५ गते सम्पन्न चुनाव विवादित बनेर नुवाकोटको हकमा केन्द्रीय निर्वाचन समितिले एक साताभित्र पुन: निर्वाचन गराउन निर्देशन दिएपछि भोलिका लागि तिथि घोषणाका वावजुद विवाद बढ्दै जाँदा महासंघ कार्यालयमा तालाबन्द गरिएको छ ।

आज अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेदवारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका हुन् । तालाबन्दीसँगै भोलि हुने भनिएको चुनाव रोकिएको छ । पुरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलाको जस्तै अपराधिक कृयाकलाप हुन लागेको भन्दै समितिका एक सदस्यले हिजो राजीनामा दिएका थिए । आज अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्ष पदका प्रत्यासी रुपा अर्याल र नमराज सुवेदीले निर्वाचन समितिका सदस्यले नै अपराधिक गतिविधि भएको भनिरहँदा छानबिनसमेत नगरी निर्वाचन कार्यक्रम अघि बढाउन लागिएको भन्दै तालाबन्दी गरेका हुन् ।

उनीहरुले उम्मेदवारसमेत रहेका महासंघ जिल्ला अध्यक्ष, निर्वाचन समितिका पदाधिकारीहरुको असक्षमता र अपराधिक कृयाकलापका कारण रोकिएको निर्वाचन पुनः गराउन अर्को समिति बनाउन गरिएको साझा प्रयास निष्कर्षमा पुग्न नसकेकाले तालाबन्दी गर्नुपरेको जनाएका छन् । ‘चुनाव गराउनका लागि प्रतिष्पर्धामा रहेका उम्मेद्वारवीच साझा सहमति जुट्न नसकेको, यही निर्वाचन समितिमार्फत् गराउने चुनाव पुनः निष्पक्ष हुन नसक्ने भन्दै अर्को निर्वाचन समिति गठन गर्न माग भइरहेको र पत्रकारका पेशागत संगठनकावीचबाट समेत सहमति जुटाउन भइरहेको प्रयास निष्कर्षमा पुग्न नसकेको र यसअघिको निर्वाचनमा जस्तै पुनः अपराधिक कृयाकलाप गरेर पत्रकारिता पेशा र पत्रकारको बदनाम गराई जुनसुकै तवरबाट चुनाव गराउन खोज्ने यस असक्षम निर्वाचन समिति तत्काल भंग गर्दै अर्को समिति गठन गर्न केन्द्रीय समितिसमक्ष अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

हिजो निर्वाचन समितिका सदस्य राम श्रेष्ठले २५ गतेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतपत्रमा संकेत राख्नेलगायतको अपराध गरेको उल्लेख गर्दै राजीनामा दिनुभएको थियो । उहाँले निर्वाचन आचारसंहिताविपरीतको काम नगर्न आग्रह गर्दा बहुमतको आधारमा निर्णय गरेर अघि बढेको आरोप लगाउनुभएको छ ।

यता, केन्द्रीय निर्वाचन समितिले भने भोलि निर्वाचन गराउन भन्दै नवनिर्वाचित केन्द्रीय सदस्यद्वय सुनिल खड्का र धुर्व रावललाई प्रतिनिधि तोकेर पठाइसकेको छ ।

२५ गतेको चुनावमा संकेत नं राखिएका मतपत्र छापी निर्वाचन गराएको तथा संकेत नं राखिएका मतपत्रको मत गनेर नतिजा घोषणा गरिएको भन्दै जिल्ला निर्वाचन समितिविरूद्व उजुरी परेपछि छानविन गर्दै पुन: निर्वाचन गर्न निर्देशन दिइएको थियो ।

टिप्पणीहरू