अर्डरको एमालेमा कसले गरायो डिसअर्डर ?

अर्डरको एमालेमा कसले गरायो डिसअर्डर ?

– अधिवक्ता प्रेमराज सिलवाल

२०४७ पछि बनेको नेकपा एमालेलाई एउटा अर्डर (व्यवस्थित प्रणालीमा चलेको) पार्टी भन्ने गरिन्थ्यो । त्यो वास्तवमा सत्य कुरा थियो । पार्टी कार्यालयको व्यवस्थापन, कमिटी प्रणाली र नियमित बैठक, समयमा वैधानिक र निर्वाचित अधिवेशन–महाधिवेशनहरू हुने, सदस्यताको व्यवस्थित रेकर्ड, अनुशासन, जनवादी केन्द्रीयता र लेनिनवादी संगठनात्मक सिद्धान्तबमोजिम संगठन सञ्चालन, अध्ययन–अनुसन्धान र वैचारिक काम, जनपक्षीयता र मूल्यको राजनीतिबाट प्रेरित भइरहनेजस्ता पक्ष र क्षेत्रमा एमाले मुलुकको सर्वाधिक सक्षम पार्टी थियो । राप्रपाजस्ता दलीय प्रणालीको कुनै अभ्यासै नभएका दल र विवेकशीलजस्ता नयाँ पार्टीसम्मले पनि एमालेकै सिको गर्थे ।

इतिहास, भूमिका र आन्दोलनको पक्षबाट हेर्दा गर्व गर्नलायक छवि र विश्वास थियो । यस्तो विश्वास, भरोसा र गर्विलो इतिहास भएको एमाले किन र कसरी भताभुंग र चकनाचुरको अवस्थामा पुगेर अडिएको छ ? किन एमालेमा अर्डर स्थापित हुन सकेन ? एमालेमा डिसअर्डरको यात्रा एउटा राजनीतिशास्त्रीको लागि महत्वपूर्ण अनुसन्धान र खोजको समेत विषय भएको छ ।

जनताद्वारा, जनताको लागि जनताको संगठन नै राजनीतिक पार्टी हो र हुनुपर्छ । राजनीतिक पार्टी खासमा पार्टी जस्तो नभएर ‘पाटी’ जस्तो हुन पुग्यो भने त्यो अवस्थालाई डिसअर्डर भनिन्छ । सर्वाधिक विश्वास र समर्थनप्राप्त एमाले पार्टी डिसअर्डर हुनु एमाले मात्र बिग्रनु होइन ।
०७५ साल जेठ ३ गते हठात दुई जनाको स्वार्थमा हतारोको र अपारदर्शी नेकपा गठन नै एमाले डिसअर्डर हुनुको मूल र जरो कारण हुन पुग्यो । नेकपाको गठन आफैँमा खराब कुरा थिएन । विचार मिल्ने कुनै पनि पार्टीको एकता आफँैमा सकारात्मक कुरा हुनुपथ्र्यो तर फाउन्डेसन (जग) निर्माण नै नगरी अघि बढ्दा त्यसले धोका खायो ।

राजनीतिक पार्टीको एकता गर्न चाहिने आधारभूत फाउन्डेशन भनेको राजनीतिक–वैचारिक आधार हो । राजनीतिक जग बनाएपछि सांगठानिक, नीतिगत, संस्थागत, प्राविधिक, व्यवस्थापनसँग जोडिएका कुरा, निश्चित कार्यक्रम र योजना, लक्ष्य र प्रक्रिया तथा आवश्यकताअनुसारका उपसमितिहरूको गठन गरी अघि बढ्नुपर्नेमा ‘चुनावी र लोकप्रिय राजनीतिक एकता’ मात्र गरियो । प्राविधिक, व्यावहारिक, संस्थागत र व्यवस्थापनका पाटो र पक्ष आदिमा पटक्कै ध्यान दिइएन । सोही कारण नेकपा पार्टी नभई एउटा ‘पाटी’ मा परिणत हुन पुग्यो ।

एकताका नाममा विभिन्न कमिटी बनाइए र तोकिए । तर, आवश्यक पदीय जिम्मेवारी नतोकी संयोजक र सहसंयोजक भनियो । जसले गर्दा कतै बैठक, छलफल, अन्तरक्रिया, बहस र भावनात्मक एकताका काम भएनन् । नेकपा भनियो । तर, एमाले एमाले नै रह्यो । माओवादी माओवादी नै रह्यो । एकताको नाममा एमालेको गर्विलो वैचारिक, प्राविधिक र व्यवस्थापनका उज्याला पक्ष केन्द्रदेखि तल वडासम्म ध्वस्त बन्न पुग्यो । सोही कारण डिसअर्डर यात्रा शुरु भयो । एमाले डिसअर्डर नेकपाको गठनदेखि नै भयो । एउटा निश्चित प्रणाली र व्यवस्थापकीय कार्यशैलीमा सञ्चालित पार्टी ध्वस्त बन्ने काम नेकपाको गठन बन्न पुग्यो ।

नेकपा देख्दा ठूलो हात्ती पार्टी त बन्यो तर सारमा त्यो पार्टीको आकारमै आएन । त्यसलाई जन्मँदै मार्ने काममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तास्वार्थमा सम्झौता गर्ने केपी ओली लागिदिए ।

ओली प्र्रचण्डलाई एमालेजस्तो नेकपा बनाउनमा कुनै चासो, चिन्ता र सरोकारै भएन । दुवैले माधव नेपाललाई सकारात्मक र नकारात्मक हिसाबले उपयोग मात्र गरिरहे । वामदेव त्यसैगरी भकुण्डो बनिदिए । प्राविधिक बहुमत र बहुमत नमान्ने शैलीले नेकपा एउटा ‘अराजक महासंघ’ जस्तो बन्न पुग्यो । एकताको नाममा प्रतिशतको भागबण्डाले पनि मेरिट (योग्यताक्रम) लाई तहस–नहस पारिदियो । हो यस्तो सोच, व्यवहार र शैलीले बनिबनाउ र प्रणाालीमा सञ्चालित एमालेलाई डिसअर्डरको अवस्थामा लग्ने काम गरिदियो ।

प्रचण्डले ‘लभ परेका जोडीलाई अदालतले डिभोर्स गराएको’ भन्दै माधवकुमार नेपाल समूहलाई फेरि पनि ‘प्रेमिका’ को रूपमा प्रस्तुत गरिरहेका छन् । अलग पार्टी भइसकेको अवस्थामा अर्काको दलमा खेल्ने सोच र तरिका ठीक होइन । आफू असल र राम्रो काम गरेर माथि पुग्ने होइन कि अघि बढेको अर्काे व्यक्ति वा शक्तिलाई पनि कमजोर बनाएर आफू त्यो बरोबर हुने ‘गरिब मानसिकता’ राख्नुहुन्न । हो, यो कारणले पनि एमालेलाई फेरि डिसअर्डरमा धकेल्दै छ ।

पार्टी कुनै तासको ‘म्यारिज खेल’ होइन । पार्टीलाई भताभुंग पारेर आनन्द लिने परिपाटी ठीक होइन । एमाले वास्तवमा अब एमालेजस्तो बन्नुपर्छ । पुनः अर्डर र भ्यालु पोलिटिक्स (मूल्यको राजनीति) पुनःस्थापित गर्नुपर्छ । त्यसको लागि ‘आफूखुशी’ संगठन बनाएको घोषणा गर्ने र मन नपर्नासाथ गलहत्याउने दुवैखाले अतिवादी सोचलाई थाती राखी आफ्नो विधान, संगठन, मूल्य, इतिहास, अनुभव र मुलुक एवं पार्टीको बृहत् हितलाई ख्याल गर्दै सामूहिक ढंगले अघि बढ्नुपर्छ । ‘तातै खाऊँ र जल्दी मरौं’ जस्तो सोचले आजै आफ्ना मान्छेलाई फलानो र चिलानो कमिटीको ढिस्कानो पदमा मनोनयन गरिएको भन्दै संस्थागत प्रणाली ध्वस्त पार्ने हर्कत बन्द गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले पनि मात्र २२ भोटको फरकले जितेको हेक्का राख्नुपर्छ । अराजक, अनुशासनहीन र दुवैतिरका पार्टी विरोधलाई कारबाही गर्नैपर्छ । तर, राजनीतिक पक्षधरताको आधारमा ‘सबैलाई शत्रु’ देख्ने चश्मा पनि फुकाल्नैपर्ने अवस्था छ । त्यो नभई अघि बढ्ने हो भने एमालेमा पहिलेको जस्तो अर्डर फेरि भत्केर डिस्अर्डरै डिस्अर्डरको चाङ लाग्दै जानेछ । आजको खाँचो भनेको एमालेलाई अर्डरमा पुनःस्थापित गराउनु नै हो । विगतमा किन र कसरी डिसअर्डर हुन पुग्यो भन्ने कुराको पनि मसिनोसँग अध्ययन, चिन्तन र मनन गर्नुपर्ने अवस्था देखिन्छ । एमालेको अर्डरले मुलुकको राजनीतिक, सामाजिक, साँस्कृतिक र नैतिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । समाज र मुुुलुकको नेतृत्व एमालेले नै गर्न सक्ने भएकाले सुधार त्यहीँबाटै थाल्नुपर्छ ।

टिप्पणीहरू